रातो कागज

चितवन, १५ साउनः जिल्लामा लगाईएको ड्रागन फल सिउडी फलमा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ ।
पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताए। ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए । फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए ।
उनले भने “अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ । औषधिको प्रयोगले यत्तिको भएको उनले बताए । राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने “कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ । यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए ।
कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो । ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो । यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ । उनले भने “बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ ।
कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ । फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ । संक्रमित फल बजारमा बिक्रि नहुने हुँदा समस्या आउने गरेको उनले बताए । यो रोग लाग्न नदिनका लागि बोटमानै समस्या देखिएको समयमा कपर अक्सिक्लोराईडको प्रयोग गर्न सकिने उनले बताए । प्रतिलिटर पानीमा २ ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ । उनले भने सुरुआती समयमानै उपचार गर्न सके उत्पादन र बिक्री बितरणमा समस्या आउँदैन । बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए ।
यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो बोडोपोष्ट एवं वोडो मिश्रण को प्रयोग गर्न सकिने छ । बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित विरुवा लगाउने जस्ता काममा व्यवसायीक किसानले ध्यान दिनु पर्ने उनले जानकारी दिए । जिल्लामा अहिले बार्षिक २८८ मेट्रिकटन सिउडी फल उत्पादन हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया