Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : डा. संग्रौला

नेपाल न्युज बैंक
19 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन् ।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताइन् ।

उनले भनिन् ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौं। गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं । समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस् । लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ । तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ ।’

नेपाली कांग्रेस सधैं युवाको साथमा रहेको बताउँदै मोडल संसद्का अभ्यासहरूबाट उर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने विश्वास पनि व्यक्त गरिन् ।

उनले भनिन् ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ । त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले लिनुपर्छ र लिन पनि लागेको छ । अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’

आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनुपर्ने कुरामा जोड पनि दिइन् ।

‘कांग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ । युवामा स्वरोजगार र स्टार्टअप प्रवद्र्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ ।’ डिलाले भनिन् ।

संसद् नीति निर्माण गर्ने, कार्यपालिका माथि निगरानी गर्ने  र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्नेमा जोड पनि दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया