रातो कागज

फुङ्लिङ ताप्लेजुङ, १४ साउनः जिल्लाको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो ।
प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय स्थानहरू छन्, जहाँ पुग्ने रहर प्रत्येक प्रकृति प्रेमीको मनमा हुन्छ । यस्ता स्थानमा पुगेपछि मानिसले प्राकृतिक सौन्दर्यको रमाइलो अनुभूति गर्छन र स्मृतिमा अमिट छाप बोकेर फर्कन्छन्, मिक्वाखोला(५ का पान्दे शोर्पाले भन्नुभयो, “सोही अन्तर्गत पर्ने सुनपोखरी एक हो ।
ताप्लेजुङमा रहेका यस्ता प्राकृतिक ठाउँहरूमध्ये कतिपयको अध्ययन अवलोकन भएको छ भने कतिपयको अहिलेसम्म अध्ययन अवलोकन हुन सकेको छैन । स्थानीयवासीका अनुसार एक जना लामा चीनबाट आएका थिए । ती लामाले पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पसे । तर, उनी त्यहीँबाट हराएको जनविश्वास छ । यही किंवदन्तीका कारण पोखरीको नाम ‘सुनपोखरी’ रहन गएको शोर्पाले बताए । प्रचारप्रसारको अभावले यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको उनको भनाइ छ ।
शेर्पाका अनुसार सुनपोखरी क्षेत्र आसवासमा अन्य पोखरीहरू पनि छन् । लोदेन क्षेत्र ताप्लेजुङको एक पर्यटकीय क्षेत्र हो । तर यस क्षेत्रको प्रचार प्रसारमा चासो कसैले नदिएको शेर्पाको भनाइ छ । अहिलेसम्म ताप्लेजुङमा प्रख्यात पोखरीहरू तिम्बुङ, सोदु र सिङ्जेमा ताल रहेका जनाउँदै शेर्पाले यी पोखरीको अवलोकन गरिसक्नुभएका विवश केदेम यस पटक सुनपोखरीको अवलोकन गर्न पुगेको बताए ।
सुनपोखरीको अवलोकनपछि अन्य ताल तथा पोखरीभन्दा कम नरहेको केदेमले बताए । यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्नका सरोकारवालाले चासो नदेखाएसँगै अहिले सुनपोखरी ओझेलमा परेको उनको भनाइ छ ।
पोखरीसम्म जाने पदमार्ग बनेको छैन । याक र भेँडी गोठलाहरू हिँड्ने गोरेटो प्रयोग गरेर पोखरीमा पुग्न सकिन्छ । अहिलेसम्म सुनपोखरीको गहिराइ, लम्बाइ र चौडाइको विषयमा नापचाँज भएको छैन । पोखरीको महत्त्व र विशेषता तथा पोखरीसँग जोडिएका किंवदन्ती र कथाको अनुसन्धान गर्नुपर्नेमा स्थानीय शेर्पाले जोड दिए ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट एक दिन अर्थात् सिम्बुकसम्म सवारी साधन प्रयोग गरेर पुग्न सकिन्छ । सिम्बुकबाट पदमार्ग प्रयोग गरेर एक दिनमा ढड्ने भन्ने ठाउँमा पुग्न सकिन्छ र त्यहाँबाट बिहान सुनपोखरीको अवलोकन गर्न सकिने मिक्वाखोला गाउँपालिका–४ का स्थानीय मिलन लिम्बूले बताए ।
सिम्बुकबाट बस्ती भएकाले पदमार्गमा स्थानीयले आफ्ना आफन्तको सम्झनामा पाटीपौवा निर्माण गरेका छन् । केही पाटीमा ओड्ने, ओछ्याउने र पकाएर खानका लागि भाँडाहरू राखेका छन् । उच्च हिमाली क्षेत्रहरुमा रहेको पोखरीहरू पर्यटकीय गन्तव्य मात्र नभएर ती पोखरी पानीको प्रमुख स्रोत हुन् । ती पोखरीबाट बग्ने पानीले पहाड तथा तराई क्षेत्रका बस्तीमा खानेपानीसँगै सिँचाइ र जैविक विविधताको संरक्षणमा महत्त्पूर्ण योगदान पु¥याउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया