नेपाल न्युज बैंक

लन्डन । पछिल्लो समय विदेशमा बसोबास गरिरहेका नेपालीहरू आफू बसोबास गरिरहेका देशमै मन्दिर स्थापना गरी धार्मिक गतिविधिमा अग्रसर हुँदै गएका छन्।
दैनिक आरती र वर्षभरि विविध धार्मिक कार्यक्रम भइरहने बेलायतस्थित दक्षिण–पूर्व लन्डनको प्लमस्टेडमा हिन्दू धर्मावलम्बी नेपालीहरूले स्थापना गरेको पशुपतिनाथ मन्दिरमा साउन महिनाको सुरुवातसँगै विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ। त्यसैगरी हरेक महिनाको अन्तिम आइतबार यस मन्दिरमा नियमित रूपमा भजन–कीर्तन तथा प्रवचन भइरहेको छ ।
बेलायतको पहिलो नेपाली हिन्दू मन्दिर भएकाले श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। विशेषगरी चाडपर्वको अवसरमा यहाँ पूजा, आराधना तथा भजन–कीर्तन हुने गरेको छ ।
बेलायतका अन्य नेपाली बस्तीहरू रहेका क्षेत्र—जस्तै अल्डरसट, बर्मिङ्घम, वेम्ली आदि स्थानका स्थानीयहरू पनि मन्दिरमा सहभागी हुन आउँछन्।
साउन महिनाभरि पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आजा भइरहेकाले चहलपहल अझ बढी देखिएको छ। यस महिनाभरि हरेक दिनजसो भजन–कीर्तन, पूजापाठ हुने गरेको पण्डित निलहरी घिमिरेले जानकारी दिए। उनको घर काठमाडौं, धुमवराही हो र हाल बेलायतमा बसोबास गर्दै आएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, “सोमबारको व्रतहरू मध्ये साउन महिनाको सोमबारको व्रत लियो भने मात्र पनि वर्षभरिको पुण्य प्राप्त हुन्छ भन्ने पुरानो मान्यता छ। त्यसै अनुसार हामी दोस्रो साता सामूहिक पूजा गर्ने तयारीमा छौं।”
उनको भनाइमा, बेलायतमा राम, राधाकृष्ण, स्वामी नारायणजस्ता अन्य मन्दिरहरू पनि छन्। तर पशुपतिनाथ मन्दिरमै सबैभन्दा बढी भक्तजनहरूको चहलपहल हुने गरेको छ। जनै पूर्णिमा, तीज, दशैं, महाशिवरात्रि लगायत पर्वमा भक्तजनहरूको उल्लेखनीय भिड देखिन्छ।
घिमिरेले भने, “बेलायतमा अहिले सबैभन्दा बढी चाप भएको मन्दिर यही हो। भक्तजनहरू राम, राधाकृष्ण, स्वामी नारायण मन्दिरमा भन्दा यहाँ बढी चहलपहल भएको बताउनुहुन्छ। नेपाली समुदाय पनि यहाँ ठूलो छ। टाढा–टाढाबाट पनि भक्तजनहरू आउनुहुन्छ। जनै पूर्णिमा, दशैं, शिवरात्रिमा हजारौँ भक्तजन आउनुहुन्छ। तीजमा पनि उल्लेखनीय भीड हुन्छ।”
उनका अनुसार, जुनसुकै देशमा पुग्दा पनि नेपालीलाई एकजुट हुन सक्ने धार्मिक थलोको आवश्यकता महसुस हुने गर्दछ। त्यसैले विदेशमा धार्मिक आस्थाको केन्द्र स्थापना गर्नु आवश्यक छ।
“मले बुझे अनुसार कुनैबेला थाइल्यान्डमा मन्दिर निर्माण गरिएको थियो। त्यसले गर्दा नेपाली भाषा नबोल्ने बालबालिकालाई पनि नेपाली बोल्ने वातावरण बन्यो। सोही अनुभवलाई आधार मानेर बेलायतमा पनि मन्दिर निर्माणको अभियान सुरु भएको हो,” उनले बताए।
हाल पशुपतिनाथ मन्दिर रहेको स्थानलाई फराकिलो बनाउनु पर्ने तथा सामुदायिक हलको आवश्यकता रहेको भन्दै त्यसका लागि अभियान चलाउने योजना बनाइरहेका छन्।
बेलायतको प्रमुख धर्म क्रिश्चियन भएकाले ४६.३ प्रतिशत जनसंख्या क्रिश्चियन धर्ममा आबद्ध छन् भने हिन्दू धर्मावलम्बीको संख्या लगभग १.८ प्रतिशत रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया