चितवन, १२ साउनः तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे ।
तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखान सिंहको जीवन यात्रालाई उपन्यासमा समेटिएको छ । चितवनको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर उठान हुने उपन्यास बखान पत्रकार वसन्त पराजुलीले लेख्नु भएको हो । शिखा बुक्सद्वारा सो उपन्यास प्रकाशन हुन लागेको हो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यही साउन अन्तिममा बखान उपन्यास बजारमा आउने जानकारी दिए । उनले भने, हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिम सम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ । विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उनको परिवार माथि त्यतिबेला राज्य पक्षबाट भएका ज्यादती, बखान सिंहले गरेका सङ्घर्षलाई उपन्यासमा समेट्ने प्रयास गरिएको छ । लेखक पाराजुलीले चितवनमा बस्ती विकास गरेको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको जानकारी दिए ।
मायाप्रेम, राजनीतिक उतारचढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइ लगायतका विषयलाई लेखकले औपन्यासिक रुप दिएका छन् । कतै न कतैबाट बखानसिंहको जीवन सङ्घर्ष उपन्यासको रुपमा पाठकले पढ्न पाउने उनको भनाइ छ । उनीहरु मलेरियासँग कसरी जोगिएर चितवन बचाए भन्ने कुरा पनि उपन्यासमा पढ्न पाइन्छ ।
यसका अलवा उपन्यासमा चितवनका आदिवासी थारुको संस्कृति, वेषभूषाका बारेमा समेत चर्चा उपन्यासमा गरिएको छ । कुमाता’ मोम्चो, ड्रिमि आइज जस्ता कथासङ्ग्रह मार्फत पाठकमाझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष समेत छन् । पराजुलीको उन्यासिक आख्यान बखान पहिलो हो ।







