Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान

रातो कागज
19 घण्टा अघि

कास्की, ९ साउनः कास्कीमा गत आर्थिक वर्ष २०८१र८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर रु तीनका दरले अनुदान दिएको हो ।

व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए । उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन् ।

उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए । सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो ।

कूल ५१ लाख १४ हजार नौ सय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषिकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए ।

उनले भने, “उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ, भन्ने किसानको माग हो । जसले बढी उत्पादन गर्छ, उसैले सरकारबाट बढी अनुदान रकम पाउने गरी प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुगेको छ ।

गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि किसानलाई दूध उत्पादनमा अनुदान रकम दिँदै आएको छ । अनुदान पाउनका लागि किसानले सहकारी संस्था मार्फत दूध बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले दिने अनुदान किसानले चौमासिक रूपमा प्राप्त गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया