१५ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाज

सुक्नथाले रोपो : नारायणी लिफ्टले तानेको पानी पर्याप्त भएन

नारायणगढ चितवन, ८ साउनः साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ ।

धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।

भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन् । खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले हाल पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ । कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको मागअनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिए ।

उनले भने, “पानी परेको भए सिँचाइको माग घट्थ्यो, तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ । नदीमा बेला–बेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ ।”

प्रमुख चालिसेले खगेरी खोलामा पानी सुकेको अवस्थामा नारायणी लिफ्टको पानी खगेरीको नहरमार्फत पठाइएको बताए । बी क्यानालको उपशाखा नहरमध्ये बीएल–६ बाट खगेरीको मूल नहरमा पानी पठाउन थालिएको उनले जानकारी दिए ।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । उक्त क्षेत्रमा ९० प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पु¥याउँदै आएको छ ।

सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइमा समस्या देखिएको छ, उनले भने, “खडेरीका कारण खगेरी सिँचाइ अन्तर्गत हालसम्म ७० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ ।”

गत असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो । भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उहाँको भनाइ छ ।

नारायणी लिफ्टमा तीन वटा क्यानाल छन् ए क्यानाल ५ सय मिटर, बी क्यानाल ९१९ किमी०, र सी क्यानाल १६.५ किमी० रहेको छ । । बी नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ । खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुर लगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

भरतपुर–१ मा रहेको जोरकुसुम उद्यान नजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ । हाल रत्ननगरस्थित खगेरी खोलाबाट बिसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ । त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मङ्गलबार देखि कमाण्ड क्षेत्रमा पठाउन थालिएको हो ।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकाशे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताए । खोलामा पानी सुक्यो । खडेरीका कारण धान रोप्न पाइएन, रेग्मीले भने, नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ, तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन ।

किसानले आलो पालो पालना गरे पनि समयमा पर्याप्त पानी नपाइरहेको गुनासो गर्ने गरेको उनले बताए ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णयअनुसार खगेरीमा पानी पठाइएको जानकारी दिए ।

उनले भने, “सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपो समेत सुक्न थालेका छन् ।

जिल्लामा हालसम्म ८७।६० प्रतिशत रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार अधिकांश पालिकामा रोपाइ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै रोपाइ बाँकी रहेको छ । खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्नथालेको उनले जानकारी दिए ।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइमा राहत दिएको छ । तर हाल ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, यसका कारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन् ।

उनका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनःभरिने रिचार्ज हुने भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ । यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पु¥याएको उनको भनाइ छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व