रासस

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताए छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे ।
बिपी कोइराला र पुुष्पलाल श्रेष्ठको सोचअनुसार उहाँहरूले अँगाल्नुभएको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले मुलुकको राजनीतिक स्थायित्व सहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको बताए।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मङ्गलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गर्नुभएका उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे ।
सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा उनले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गरे ।
नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भने, “मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त सङ्घर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उनले देखेका तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाम मोर्चा मार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण ग¥यो ।
उनले भने, हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिबानीअनुरुप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो । आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया