Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

रासस
7 घण्टा अघि

झापा, ७ साउनः दमक व्यापारिक कम्प्लेक्स बिजनेस टावर सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

 

दमक नगरपालिका–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर यही साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो ।

 

बिजनेस टावर रहेको दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताए । घुम्न, फोटो खिच्न र भिडियो खिच्न पहिले पनि मानिसहरु आउँथे, उनले भने, तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको रोचक दृश्यावलोकन गर्न पर्यटकहरु झुम्मिएको देखिन्छ ।

 

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन ६ गतेसम्म दुई हजार एक सय ४५ जनाले अवलोकन गरिसकेका छन् । टावरमा प्रवेशका लागि प्रतिव्यक्ति रु एक सय शुल्क तोकिएको छ । खनालका अनुसार साउन १ गते चार सय ३८ जना, साउन २ गते तीन सय ८४ जना, साउन ३ गते चार सय ८१ जना, साउन ४ गते दुई सय ७९ जना, साउन ५ गते दुई सय ९० जना र ६ गते साउन दुई सय ७३ जनाले टावर घुमेका छन् ।

 

सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौँको धरहरा लगायत मुलुकका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी गरिसकेको छ । सहकारी विकास मन्त्रालय मातहत रहने समितिले कार्यकारी निर्देशकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान समेत गरिसकेको छ ।

 

उक्त समिति क्रियाशील नहुञ्जेलका लागि सहकारी विकास मन्त्रालयले हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई नै ‘बिजनेस टावर’ सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी दिएको छ । कार्यालयले टावरको सञ्चालनका लागि खनालको नेतृत्वमा १० जना कर्मचारी परिचालन गरेको छ ।

 

टावर निर्माणमा रु एक अर्ब ४५ करोड खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २३ गते बिजनेस टावर’को विधिवत् उद्घाटन गरेका थिए । हाल बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधरणका लागि खुला गरिएको छ ।

 

व्यवस्थापकीय जिम्मेवारी सम्हाली रहेका सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत खनालका अनुसार हाल टावरको १६ तलासम्म चढेर दृश्यावलोकन गर्न सर्वसाधारणलाई खुला गरिएको छ । तला चढ्नका लागि दुई वटा विद्युतीय सिढी लिप्mट प्रयोगमा ल्याइएको छ ।

 

दृश्यावलोकन र तस्वीर खिच्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘बिजनेस टावर वरपर खाना र खाजा खुवाउने रेस्टुरेण्ट र साना पसलको व्यापार फस्टाउन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया