Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

रासस
6 घण्टा अघि

भोजपुर, ६ साउनः कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेकन हुन।

 

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु”, उनले भने ।

 

‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उहाँको भनाइ छ । राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ । आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उहाँले जानकारी दिनुभयो । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।

 

हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु”, उनले भने ।

 

आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उहाँले जानकारी दिए । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाण्डौँ लगायत सहरमा जाने गरेको उनी बताछन् ।

 

पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिने लगायत रोग देखिन थालेको उनको भनाइ छ । खुर्सानी खेती सँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानी खेती गर्दै आएको विष्टले बताए । मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उनको भनाइ छ । “मैले अग्र्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु, उनले भने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अग्र्यानिक खेतीमा जोड दिएको हुँ । करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए ।

व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनको भनाइ छ । राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया