Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

रासस
6 घण्टा अघि

चितवन, ६ साउनः अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।

 

नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट ३० वटाको रु पाँच सय २५ कायम गरिएको छ । मध्यम रु चार सय ९५ कायम भएको छ ।

 

चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी सात क्रेटको रु तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ ।

 

अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु पाँच सय १० पुगेको थियो । उनले भने, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ । यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए।

 

उनले भने, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । मूल्य बढ्दा किसान उत्साहित भएका छन् । एकिन तथ्याङ्क नभए पनि हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया