Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हेंवाखोला बाढी तीनवर्ष : हटेन सास्ती

नेपाल न्युज बैंक
1 हप्ता अघि

पाँचथर, ५ साउनः ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपर्ने थियो । बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी नै थियो । तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्रै चल्ने भइसकेका थिए ।

 

जोडबलले सवारीसाधनमा स्थान पाएर उहाँ पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म आइपुगे । हेंवा खोलामा सडक अवरुद्ध भएकाले करिब दुई किलोमिटर पैदलयात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीसाधन हुँदै उनी फिदिम आइपुगे । गत वर्षको असोजमा उनकी श्रीमती बिरामी परेपछि उपचारका लागि अस्पताल जानुपर्नेभयो । बिरामी श्रीमती लिएर फिदिम आउँदा हेंवा खोलामा अघिल्लो वर्षायामको जस्तै सास्ती आचार्यले खेप्नुप¥यो । यस वर्ष हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि वर्षायाममा यात्रा नगर्ने अठोटमा आवश्यक सामग्री जोहो गरेर बस्ने सोचाइमा आचार्य थिए । तर जेठ दोस्रो साता उनलाई करेन्ट लाग्यो । नियमित फलोअपमा अस्पताल धाउनुपर्ने बाध्यता उनको छ ।

 

यसवर्ष आफैँ बिरामी भएकाले फलोअपका लागि अस्पताल जाँदै छु”, आइतबार फिदिम आउँदै गरेको आचार्यले भने, “तर यसवर्ष पनि उस्तै सास्ती खेप्नुप¥यो ।”आचार्य हेंवा खोलामा लगातार तीन वर्षायाममा आइपरेको समस्याको प्रत्यक्ष साक्षी छन् । आचार्यले भनेजस्तै मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले यहाँ रहेको पक्की सडक पुल बगाएको थियो । यहाँ एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रबन्ध मिलाइयो । यसको करिब दुई महिनापछि सोही स्थानमा बेलिब्रिज जडान  सम्पन्न भयो ।

 

गतवर्ष असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले १३ महिनाअघि जडित बेलिब्रिज बगायो । बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो । हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो । निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो ।

 

सडक डिभिजन कार्यालय इलामले रु तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो । बेलिब्रिज भाँचिदा निर्माणमा संलग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान नै गयो ।

 

यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो । तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराति आएको बाढीले यहाँ निर्माण गरिएका दुई डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ । यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकोमा चिन्तित छन् । “बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्छ”, उपचारका लागि फिदिम आउँदै गर्नुभएका यात्रु आचार्यले भने, “यो सास्तीको उपाय चाहीँ खोज्नुपर्छ । कडाइका साथ नियमन गरेको भए हुन्थ्यो । छोटो बाटो विकल्पका रुपमा खोज्न किन सकिएन होला?

 

आचार्यकै छिमेकी राजेशकिरण भट्टराई आफ्नी दुई महिने सुत्केरी श्रीमतीलाई रोगको सङ्क्रमण देखिएपछि उपचारका लागि दुई वर्षअघि यसै याममा ल्याउनु परेको सम्झनुहुन्छ । त्यो बेला साह्रै सास्ती भोग्नुपरेको थियो उनले भने, “यस वर्ष पनि उस्तै अवस्था रहेछ । यसवर्ष दुई वर्षको छोरोलाई कानमा समस्या देखिएपछि उपचारका लागि ल्याउँदै छु ।सवारीसाधन छोडेर भारी र बालबच्चा सहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता यात्रुको छ । “यस्तो हैरानी सधैंँ दोहोरिरहेको किन होला? भनेर हामीले बुझ्न सकेनौँ”, उनले भने । यात्रुका सामग्री स्थानीयवासी युवाहरुले केही शुल्क लिएर वारपार गराउँदै आएका छन् ।

 

अशक्त यात्रुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ । तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठीन छ । यस राजमार्गमा दैनिक हजारौँ यात्रु यात्रा गर्ने गर्दछन् । तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुहरुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी व्यवसायी धनमता गुरुङको भनाइ छ । “पुल नहुँदा यात्रुहरुले धेरै दुःख पाइरहेका छन् । सरकारले गम्भीर भएर काम नगरेको हो कि जस्तो लाग्छ हामीलाई”, उनले भने।

 

सडक डिभिजन कार्यालय इलामका इञ्जीनीयर सीताराम गौतमका अनुसार भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको छ । भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपूर्जा भारतबाट मगाइएको थियो । तर एक सातादेखि ती पार्टपूर्जा भन्सारमा आएर थन्किएका छन् ।

 

भन्सारमा थन्किएका पार्टपूर्जा आउनासाथ जडानको काम सुरु गर्छौंँ, उनले भने, यहाँको समस्याको सहज समाधान भनेकै बेलिब्रिज जडान गर्नु हो । समग्र निर्माणको ८० प्रतिशतभन्दा बढी काम भइसकेको ७० मिटर लामो बेलिब्रिज गत जेठ ३१ गते निर्माणकै क्रममा भाँचिएपछि यहाँ पुल निर्माण अझै अन्योलमा छ । बेलिब्रिज भाँचिएका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा समिति नै गठन गरी छानबिन गरेको थियो ।

 

सो समितिले प्राविधिक त्रुटीले बेलिब्रिज भाँचिएको र सोही स्थानमा बेलिब्रिज जडान गर्नु समस्या समाधानको उपयुक्त विकल्प हुने निष्कर्ष निकालेको थियो । तर भाँचिएको बेलिब्रिज खुस्काउने काम सकिएको दुई सातासम्म पनि नयाँ जडानको काम अघि बढ्न नसक्दा यात्रुहरु समस्यामा छन् ।

 

यही पुलले ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीसाधन सञ्चालन गर्न सम्भव हुने छैन । यसको असर प्रभावित क्षेत्रका बिरामी, विद्यार्थी तथा उत्पादित कृषि उपजमाथि पर्नेछ ।

–––

 

फेसबुकबाट तपाईको प्रतिक्रिया