Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव

रातो कागज
8 घण्टा अघि

काठमाडौं । राष्ट्रियसभा पूर्व सदस्य तथा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्नुपर्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रणको लागि उनले आफूले धेरै पहिलेदेखि यो विषय उठाएको स्मरण गराए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मन्त्रीहरु र सचिवहरुको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ । भ्रष्टाचारको जड र अखडा मन्त्री र सचिवहरुमा छ । त्यसकारण नागरिकले देख्नेगरि सिसी क्यामेरा राख्नुपर्छ । भित्र दलाल र माफियासँग डिल गर्ने काम भएको छ ।’ देवकोटाले आफूले संयुक्त सदनमा यो विषय उठाइसकेको सुनाए ।

उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे । उनले भने,‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन् । कठा प्रश्न कसले गर्ने ? त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’

उनले संघीयता कार्यान्वयनको सवालमा केही कमिकमजोरी भए सुधार गर्न सकिने बताए ।

उनले मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव दिए । उनले भने,‘मन्त्रालयको सख्या जो राखिएको छ, संस्था धेरै भएका छन् । यो आधाभन्दा बढि घटाउनुपर्छ । हामीले सिंहदबारमा १५ वटा मन्त्रालय हुनुपर्छ भनेर सिफारिश गरेका थियौं । प्रदेशमा पनि मन्त्रालयको संख्या धेरै भएको छ । गुनासो छ । प्रदेश मन्त्रालयको संख्या घटाउनुपर्छ ।’ उनले अहिलेको सरकारले संविधान संशोधन गर्ने कुरामा शंका लागेको बताए । उनले भने,‘संविधान संशोधनप्रति नेताहरु प्रतिबद्ध हुनुहुन्छ जस्तो लागेको छैन् ।’

उनले संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्व विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया