नेपाल न्युज बैंक

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका छन् ।
पराजुलीले जारी गरेको विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहजीकरणमा गत मे ३–४, २०२५ मा सम्पन्न विश्व महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदा आफू अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा निर्वाचित गरेको पनि स्मरण गराएका छन् ।
विज्ञप्तिमा उनले अमेरिका र क्यानाडामा दुई–दुई वटा एनसीसीहरू कानुनी रूपमा दर्ता भएको र छुट्टाछुट्टै नेतृत्वमार्फत काम गरिरहेको स्पष्ट पार्दै दुई एनसीसीलाई एकताको महाधिवेशनका लागि एकजुट बनाउने निर्णय भएको र सोही निर्णय कार्यान्वयनका लागि आफूले पहल गरिरहेको पनि उल्लेख गरेका छन् । दुवै एनसीसीका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले हस्ताक्षर गर्दा एनआरएनए आइसीसी अध्यक्ष महेश श्रेष्ठ पनि सहभागी भएका थिए ।
सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया