Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शहरी विकास मन्त्रालय अब पेपरलेस, अनधिकृत गाडी प्रयोगमा रोक

नेपाल न्युज बैंक
6 घण्टा अघि

काठमाडौं । शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस)कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए ।

 

मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जानकारी दिए । ‘सरकारी कामकारवाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठि पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

 

अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतिय हाजिरिमा कडाइ
शहरी विकास मन्त्रालयले अनधिकृत रुपमा प्रयोग भएका मन्त्रालयका गाडीहरु फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।

 

पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रुपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ । मन्त्रालयबाट सरुवा भइ जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरुले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ ।

 

त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतिय हाजिरीमा पनि कडाई गर्ने भएको छ । अहिले विद्युतिय हाजिरिको व्यवस्था भएपनि विभिन्न बहाना बनाएर हाजिरि टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।

 

प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै

शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरुका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुने छ । अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आउनुभएकोमा साउन १ गतेबाट अरु आयोजनाहरुको पनि अनुगमन हुने छ । आयोजनाको कार्यप्रगति विवरण मन्त्रालयको कन्ट्रोल रुपबाट नियमित रुपमा अनुगमन हुनेछ ।

 

यता, झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले पररीक्षणका रुपमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।

 

एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया