नेपाल न्युज बैंक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को डा. बद्री केसी पक्षले आफ्नो १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीलाई तीव्र बनाएको जनाएको छ ।
संघका अध्यक्ष डा. केसी नेतृत्वको कार्यसमितिले हालसम्मको कार्यकालमा गरेका उपलब्धिहरू र आगामी योजना सार्वजनिक गर्न आइतबार एक पत्रकार सम्मेलनको आयोजना गदै विश्व सम्मेलनका बारे जानकारी दिएको हो ।
संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा डा.केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको स्मरण गराउँदै, सदस्यता वितरणदेखि महाधिवेशन तयारीसम्मका विषयमा जानकारी दिइएको छ ।
हालसम्म ‘मेम्बरसिप इन्फरमेशन सिस्टम–एमआइएस’मार्फत ७२ हजार सदस्यता वितरण भइसकेको जनाइएको छ भने झण्डै पाँच हजार सदस्यता स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ । जापानबाट मात्रै १८ हजारभन्दा बढी र अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य दर्ता भइसकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघका अनुसार विधानतः जुलाई १ देखि ३१ (असार १७ देखि साउन १५) भित्र सबै राष्ट्रिय समन्वय परिषद्हरूको अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । हालसम्म १५ वटा एनसीसीले अधिवेशन सम्पन्न गरिसकेका छन् भने बाँकी देशहरूमा अधिवेशनको तयारी भइरहेको छ । यी अधिवेशनहरू आगामी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुने पनि जनाइएको छ ।
महाधिवेशनको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समिति, निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति गठन भइसकेको जानकारी गराइयो । अधिवक्ता डा.राजेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको निर्वाचन समितिमा चिरन्जीवी ढकाल, टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघले हालको कार्यकालमा विभिन्न परोपकारी तथा विकासीय कामहरूमा उल्लेखनीय योगदान पु¥याएको जनाएको छ । संघले चार करोड रुपैयाँभन्दा बढी रकम सामाजिक र मानवीय कार्यहरूमा खर्च गरेको बताइएको छ । बाढी, भूकम्प, आगलागी तथा विपद् पीडितहरूलाई राहत वितरणदेखि स्वास्थ्य र शिक्षामा लगानीसम्म उल्लेख्य कार्यहरू गरिएको उल्लेख छ ।
विदेशमा रहेका नेपालीहरूको साना तथा ठूला लगानी भित्र्याउने उद्देश्यले एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको र प्रारम्भिक रूपमा १० अर्बको यो फण्डलाई ५० अर्बमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
संघले आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनलाई सफल बनाउन सबै पक्षको एकता, सहभागिता र समन्वयको आह्वान गरेको छ ।
‘गैरआवासीय नेपाली संघले भविष्यमा पनि समस्त नेपालीहरूको हित र प्रगतिको लागि प्रतिबद्धता पूर्वक काम गर्दै, देश तथा प्रवासी नेपालीबीचको सम्पर्क, सहयोग र विकासको लागि पुल निर्माण गर्नेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया