नेपाल न्युज बैंक

ललितपुर । नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान अझ महत्वपूर्ण छ । सिमेन्ट, गिट्टी र वालुवाको बढ्दो प्रयोगले काष्ठकला हराउँदै गएको छ ।
समय र प्रविधिले कला क्षेत्रमासमेत प्रभाव पारिरहेका बेला काष्ठकला पनि पुस्तेनी एवम परम्परागत सीपमा मात्र सिमित हुन पुगेको छ । तर समाजमा सबै एकनासमा मानिस छैनन् । कसैले परम्परालाई जोगाउन उदाहरणीय कर्म गरिरहेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको झरुवाराशीमा किरण कुमार स्थापितले काष्ठकलाको मात्र प्रयोग गरेर ‘पूर्णज म्यूजियम रिसोर्ट’ खोलेका छन् । व्यवसाय मात्र नभइ परम्परा र काष्ठकलाको संरक्षण गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याएको उनको दाबी छ ।
जहाँबाट हिमाल एवम उपत्यकाको रमणीय दृश्य समेत मज्जाले देख्न सकिन्छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट ५० करोडको लगानीमा निर्माण गरिएको हो ।
स्थापितहरुको पुस्तेनी काम नै काष्ठताकला हो । उनले त्यही काष्ठकलालाई रिसोर्टको रुपमा पनि परिणत गरेका हुन् । हुन त उनले व्यवसायिक सफलताको लागि भन्दा पनि काष्ठकलाको संरक्षण र स्थापित परिवारको विरासत भाबी पुस्तालाई बुझाउने उद्देश्यले तीन वर्षअघि रिसोर्ट सञ्चालनमा ल्याएका थिए । तर उनलाई आज उक्त रिसोर्टले व्यवसायिक रुपमा पनि अव्बल बनाएको छ ।
फरक र पृथक शैलीको यो काठमाडौं उपत्यकाकै पहिलो रिसोर्ट भएको स्थापितको दाबी छ । जहाँ काष्ठकलाको मात्र प्रयोग गरेर बनाइएको छ । जसको कारणले पनि उक्त रिसोर्टमा खाना–बस्न बाहेकपनि अवलोकनको लागि मात्र पनि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्छन् ।
उनले रिसोर्टमा कला र ग्राफ्टलाई विशेष प्राथमिकता दिइएको कारण पनि अरु रिसोर्टभन्दा फरक रहेको दाबी गरे । उनको अनुसार रिसोर्टभित्र एउटा म्यूजियम पनि राखिएको छ जसले रिसोर्टलाई थप आकर्षित गरेको छ । काठको काम कसरी गरिन्छ, पाटी–पौवा एवम मन्दिरहरुमा कस्तो प्रकारको कलाको प्रयोग गरिएको हुन्छ भन्ने विषयको जानकारी म्युजियमबाट नै लिन सकिन्छ ।
उनले भने,‘यो रिसोर्ट अरुभन्दा भिन्न छ । किनकी यहाँ रिसोर्टमात्र भनेर टार्गेट गरेको छैनौं । आर्ट र ग्राफ्टलाई विशेष प्राथमिकता दिएको छौं । यहाँ राखिएका हरेक झ्याल ढोकाको छुट्टटै अर्थहरु छन् । किलाबिना पूरानो टेक्निकमा निर्माण गरिएको मन्दिरहरु छ । रिसोर्टभित्र एउटा म्यूजियम पनि राखिएको छ । रिसोर्ट आफंैमा म्यूजियम नै हो । काठबाट कसरी सामग्रीहरु बन्छ र काठको काम कसरी गरिन्छ । पाटी एवम मन्दिर कसरी बनाइन्छ र कुन कुन उपाएहरु लगाइन्थ्यो भन्ने म्यूजियम बनाइएको छ । त्यो म्यूजियम रिसोर्टको सबैभन्दा बढि विशेषता बोकेको छ ।’
रिसोर्टमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो रहेको बताउँदै उनले यूरोपियन पर्यटकहरु पनि आउने गरेको जानकारी दिए । उक्त रिसोर्टमा पिकनिक स्पट समेत राखिएको छ । जसको कारण मनोरञ्जन गर्न रुचाउनेहरुको उपस्थिति पनि उत्साहजनक छ ।
‘अहिले हामीले अनुभव गरे अनुसार लोकलहरुले रुचाइरहेको पाएका छौं । हाम्रो आर्ट एण्ड क्राप्टमा चुम्बकीय शक्ति छ भन्छु । युरोपियन जति पनि पहिलो पटक आइराख्नु भएको छ पुनः फर्केर आउने गर्नुहुन्छ । पिकनिकमा रमाउनेहरुका लागि पनि सोही अनुसारको व्यवस्थापन गरेका छौं,’ उनले भने ।
सञ्चालक विस्थापित रिसोर्टमा आउने पर्यटकहरुले वास्तुकलासँग सम्बन्धित रहेकाले सकारात्मक उर्जा मिलेकोे प्रतिक्रिया दिने गरेको बताउँछन् । त्यतिमात्र मात्र होइन काष्ठकलाको अवलोकन गर्ने कतिपयले सोही अनुसारका काठका सामग्रीहरु अर्डरसमेत गर्ने गरेका छन् । ‘यहाँ जुन हस्तकलाका समानहरु निर्माण हुन्छन् ति वास्तुकलासँग सम्बन्धित छन् । त्यसैले धेरैलाई मन परेको छ,’ उनले भने ।
काष्ठकलाको सीपलाई जोगाउनका लागि युवाहरुको कमै मात्रामा सहभागिता रहेको पाइन्छ । तर यो म्यूजियमले अबको नयाँ पुस्ताले आकर्षित गर्ने उनको दाबी छ ।
उनी भन्छन्,‘म्युजियमले नयाँ पुस्ताले पनि यो काम कसरी हुन्छ भनेर फिल गर्न सक्छ । अहिले पनि स्कूलको विद्यार्थीहरु, आर्टिटेक सिकिरहेकाहरुलाई सिक्ने राम्रो माध्यम बनेको छ । त्यो नै हाम्रो मुख्य उद्देश्य हो ।’
राज्यको सहयोगको अपेक्षासहित लगानीको पाटोमा जोखिम मोलेर रिसोर्ट खोलेको उनी बताउँछन । सरकारले राजश्व बढी लिने अवस्थाले गर्दा आफूहरु मारमा परेको गुनासो उनले गरे ।
उनले थप्दै भने,‘लगानीको पाटोबाट हेर्दाखेरि रिक्स मोलेका छौं । यहाँ अहिले पनि सडक पहुँच राम्रो छैन् । राज्यले पनि केही त गर्ला भनेरै काम सुरु गरेका हौं । तर राज्यलाई झकझक्याउन र आफ्ना मागहरु राखिरहेका छौं । तर राजश्व बढी लिने अवस्थाले गर्दा गार्हो बनाएको छ । स्थानीय तहले लिने ट्याक्समा अलिकति गुनासो छ ।’
रिसोर्टलाई आउने दिनमा म्युजियमकै रुपमा अगाडि बढाउने उनको योजना छ । ‘अबको २० देखि २५ वर्षमा यो आफैं म्युजियम बन्नेछ,’ भावी अपेक्षा सुनाउँदै उनले भने,‘यसलाई अब एउटा म्युजियमकै रुपमा अगाडि बढाउने छु । २० देखि २५ वर्षमा यो आफैं म्युजियम बन्नेछ भन्ने आशा गरेको छु । भावी पुस्तालाई एउटा नमूनाको हब बन्नेछ । प्रतिक्रियाहरु पनि सकारात्मक पाइरहेको छु,’ उनले भविष्य सुनाए ।
यस्तै, उनका छोरा बैभव स्थापित पनि आफ्ना बाबुसँगै काष्ठकलाको संरक्षणमा लागेका छन् । आफू स्थापित परिवारमा जन्मिएको कारणले पनि व्यवसायिकसँगै काष्ठकलालाई कसरी बचाउने भनेर लागि परेको बताउँछन् ।
कलाकारको अभावले पुस्तान्तरण हुन नसकेको बताउँदै उनले पाउनुपर्ने पारिश्रमिक दिन सकेपनि बढ्छ जस्तो लागेको उनले बताए ।
उनले भने,‘म पहिलेदेखि नै यही माहोलमा हुर्किए । हजुरबुबा र बुवाले गर्दै आउनुभएको कामप्रति उत्साहित थिए । मलाई पनि केही गर्छु भन्ने सोच थियो । म व्यवसायसँगै काष्ठकलालाई कसरी बचाउने र यसलाई ठुलो हिसावमा कसरी लाने भनेर गर्न खोज्दैछु । अहिले पहिलेको भन्दा परिवर्तन भएको छ । काष्ठकलाका कलाकारहरु घट्दै गएका छन् । कलाकारको अभावले पुस्तान्तरण हुन सकेको छैन । तर पाउनुपर्ने पारिश्रमिक दिन सकेपनि राम्रो हुन्थ्यो जस्तो लाग्छ ।’
त्यस्तै काष्ठकलाको महत्वबारे बुझाईमा कमी हुँदापनि राम्रा कलाहरु बेच्ने ठाउँ नभएर घट्दै गइरहेको उनको बुझाई छ । आफ्नो कलालाई बाहिर कसरी फैलाउने भन्ने सोच राखेर अगाडि बढिरहेका उनी पहिलाको जस्तो कलाकार नहुनु र कला पुस्ता हस्तान्तरण नहुनु चुनौतीपूर्ण रहेको बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो रिसोर्ट नेवारी माहोलमा छ । नेवारीलगायतका विभिन्न परिकार, सुविधा सम्पन्न रुम र आकर्षक एवम सफाचट रेष्टुरेन्टले रिसोर्टको पहिचान झल्किन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया