Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पर्यटकको क्षेत्रमा नयाँ आयाम र आकाशमा पाइला राख्ने सपनाको सुरूआत : काठमाडौंको स्काई वाक

नेपाल न्युज बैंक
6 घण्टा अघि

काठमाडौं । नेपालको राजधानी काठमाडौंमा निर्माण भएको स्काई वाक टावर पछिल्लो समय अत्यधिक चर्चामा छ । नेपालको पहिलो यस्तो किसिमको संरचना भएकाले यसप्रति आम जनताको चासो दिनानुदिन बढिरहेको छ । आकाश छुन खोज्ने यो नयाँ संरचना अहिले पर्यटक तथा स्थानियहरूको प्रमुख आकर्षण बनेको छ ।

 

नयाँ प्रविधियुक्त संरचना, सुरक्षायुक्त डिजाइन, र मनोरञ्जनको नयाँ शैली सहितको स्काई वाक टावर काठमाडौंको नयाँ पहिचान बन्दै गएको छ । यसले देशको पर्यटन क्षेत्रमा नयाँ ढोका खोलेको छ भने भविष्यमा थप यस्ता संरचना बन्ने आशा गर्न सकिन्छ ।

 

यो टावर ७८.५ मिटर अग्लो छ भने ६५ मिटरको उचाइमा पारदर्शी सिसामा हिँड्न मिल्ने स्काई वाक बनाइएको छ । यहाँबाट काठमाडौंको सहरलाई उचाइबाट नियाल्न सकिने अद्भुत अनुभव पाइन्छ, जुन नेपालमा पहिलो पटक सम्भव भएको हो । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको छ ।

 

यो टावर विशेषगरी युवापुस्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता, पर्यटक, र रोमाञ्चक अनुभव खोज्नेहरूका लागि लोकप्रिय गन्तव्य बन्न थालेको छ । सिसाको छानामा हिँडेर फोटो खिच्ने र रमाइलो गर्ने प्रवृत्तिले यस स्थानलाई झन् आकर्षक बनाएको छ । पहिलोपटक यस्तो अनुभूति लिन पाउँदा धेरैले यो टावरको प्रशंसा गरेका छन् ।

 

यसको निर्माणले काठमाडौंको पर्यटन क्षेत्रमा नयाँ किसिमको गन्तव्य थपेको छ ।
स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ भने यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारी भईरहेको स्काइ वाक नेपालकी मार्केटिङ् अफिसर सोनी पाहाडीले बताएकी छन् ।

 

उनले भनिन्, ‘हामी तेस्रो वर्षमा लागेका छौ । स्काइ वाक नेपाल, नेपालको सबैभन्दा उच्च सिसाको वाक टावरमा पर्छ । यसको विशेषता भनेको नै ग्लास वाक हो । केही समयमा टावरको ग्राउन्ड लेबलमा डोमको सुविधा लिन सक्नु हुन्छ भने माथि स्काइ वाकमा केही महिनामा बञ्जीको पनि अनुभव लिन सक्नु हुन्छ । समग्रमा भन्नु पर्दा अब हामीले डोम र बञ्जी थप्दै छौ ।’

 

यहाँको सिसा ५ तहको छ । तीन तहको सिसालाई टफन ग्लास भनिन्छ, त्यो एउटै १० मिलिमिटरको छ, अर्को २ तहको ग्लास १.५२ मिलिमिटरको छ त्यसको नाम लेमिनेटेड ग्लास हो । त्यसकारण सुरक्षाको हिसाबले भन्नु पर्दा एकदमै सुरक्षित र भूकम्प प्रतिरोधात्मक भएको हुनाले ढुक्क भएर हिन्न सक्ने पनि उनको भनाई छ ।

 

यो स्काइ वाकले नेपालीहरुको साथै भारत, अमेरिका, चीन, जापान जस्तो सबै देशका पर्यटकहरुलाई तान्न पनि सफल भएको छ ।

 

पाहाडीका अनुसार यो स्काइ वाकमा नेपालीहरुको साथै पर्यटकहरु पनि बढि मात्रामा आउने गरेका छन् । भारत, अमेरिका, चीन, जापान जस्तो सबै देशका पर्यटकहरु यहाँ आउने गरेका छन् । पर्यटकीय हिसाबमा पनि स्काइ वाकले चर्चा कमाउन सकेको छ । यहाँ दिनमा करिब २ सय देखि ३ सयसम्म मान्छे आउने गरेको छ र बिदाको दिन कुनै पर्वको दिनमा अझ बढि पनि हुन सक्छ ।

 

उनका अनुसार स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ, टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन र ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।

 

उनले भनिन्, ‘हामीले बच्चा, ज्येष्ठ नागरिक र विद्यार्थी सबैको लागि छुटको व्यवस्था गरेका छौ । बच्चाहरु जो ३ फिट सम्मको हुनुहुन्छ, उहाँहरुलाई निशूल्क, ४ फिटसम्मको बच्चाहरुको लागि ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकमा ७० देखि ७९ वर्षको बुबा आमालाई ५० प्रतिशत छुट रहेको छ । सबै ८० भन्दा माथिको बुबा आमालाई निशूल्क छ ।

 

हामीले विद्यार्थीहरुलाई पनि छुट दिइरहेका हुन्छौ । स्नातक तहको मान्छेलाई २५ प्रतिशत छुट, अपाङ्गहरुको लागि पनि ५० प्रतिशत छुट दिइ रहेका छौ ।’

 

सुरु सुरुमा धेरै मान्छे आउने हुदाँ धान्न गाह्रो भएको हुनाले ३० मिनेट, ४५ मिनेट मात्र राखेर तल पर्ठापनि अहिले यहा चडेपछि दिनभरि बस्छु भन्दा पनि पाइने पनि उनको भनाई छ । स्काइ वाकमा चढ्नको लागि एक जनालाई १ हजार रुपैया तोकिएको छ ।

 

यसैगरि स्काइ वाकमा भ्रमण गर्न आएकी सर्मिला कालिकाले मैले पहिलो पटक सिसामा हिन्दा डर लागिरहेको थियो तल हेर्दा मुटु ढुकढुक गथ्र्यो तर त्यो अनुभव अविस्मरणीय रहेको बताईन् ।
उनले भनिन्, ‘मलाई एकदमै रमाइलो लाग्यो, सुरुमा डर लागेको थियो तर पछि त रमाइलो लाग्दै आयो । नेपालमा पनि यस्तो खालको भवनहरु बनाउनु पर्छ । एकपटक भएपनि सबैलाई यहाँ आउन आग्रह गर्न पनि चहान्छु ।’

 

स्काई वाकमा हिँड्दा साच्चिकै रोमाञ्चक महसुस गरेको भन्दै धुम्न आएकी दुर्गा मिश्रले बताईन् ।

 

उनले भनिन्, ‘सुरुमा डर लागेको थियो तर अहिले लागेको छैन् । रमाइलो लाग्द रहेछ माथिबाट हेर्दा, काठमाडौं सबै देखिने रहेछ । अलिकति छुट भने दिनु पर्ने थियो १ हजार अलि बढि भयो तर ठिकै छ । यहाँको सुविधा पनि राम्रो नै लाग्यो ।’

 

साथै, स्काइ वाकको भ्रमणमा आएकी शकुन्तला पौडेलले पनि नेपालमा यति आधुनिक गन्तव्य बनेको देख्दा खुसी लागेको भन्दै नेपालीहरु बढि मात्रामा आउने हो भने त्यसबाट पर्यटकहरु पनि प्रभावित भएर आउने बताईन् ।

 

उनले भनिन्, ‘नेपालमा पनि यति आधुनिक गन्तव्य बनेको देख्दा खुसी लाग्यो । यो टावरले हाम्रो पर्यटन क्षेत्रको स्तर नै फरक बनाएको छ । परिवार र साथीभाइसँग घुम्न जान उत्कृष्ट स्थान हो यो, पहिला हामी आयौं भने मात्र अन्य पर्यटकहरु पनि आउने हो ।’

 

सामाजिक सञ्जालमा यो टावरको भिडियो देखेर पनि कतिपय मानिस आउने गरेको पाइन्छ । वि.सं. २०७६ मंसिरमा नै शिलान्यास गरिएको यस परियोजनालाई करिब २ वर्षभित्रैमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारीका कारण ढिला भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया