News and Updates

काठमाडौं । नौं वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेका छन् ।
विहीबाबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.ब. २०८२/०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् ।
बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्दै भनिएको छ, ‘नेपाल सरकारले बजेट वक्तव्यमा सेवामा वहाल रहेका कर्मचारीलाई भत्ता वृद्धि गरी सेवा निवृत्त कर्मचारीहरुलाई भत्ता वृद्धि नगरिएको सन्दर्भमा सरकारलाई ध्यानआकर्षण गर्न मिति २०८२/०२/२२ मा विभिन्न नौं वटा सेवा निवृत्त संघ संगठनहरु इश्वर वहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गर्न सहमत भएका छौं ।’
संयुक्त संघर्ष समितिले गरेका निर्णय यस प्रकार छन् :
१. हरेक दुई दुई वर्षमा राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था र उच्च स्तरीय तलव सुविधा निर्धारण समितिको सिफारिसलाई ०८२/०८३ को बजेटले सम्बोधन नगरेकोले सो संवोधन गर्न प्रधानमन्त्री, अर्थमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राज्य व्यवस्था समितिका सभापतिलाई ज्ञापनपत्र दिने ।
२. सेवा निवृत्त राष्ट्रसेवकलाई उपेक्षा गर्दै बाहालवालाहरुको लागि मात्र महंगी भत्ता वृद्धि गरिएको विषय त्रुटिपूर्ण रहेकाले सो सच्याउने ।
३. राज्यका विभिन्न निकायहरुविच सेवा निवृत्त कर्मचारीहरु माथि विभेद हुनेगरी कानून निर्माण गरिएकोले सबैमा एकरुपता हुनुपर्ने ।
४. तत्काल वजेटले सेवा निवृत्त राष्ट्र सेवकको माग संम्बोधन नगरिएमा आन्दोलनको विकल्प नभएकाले सेवा निवृत्त संघर्ष समिति आवश्यकता अनुसार आन्दोलनमा जुटेका छौं ।
फेसबुकबाट तपाईको प्रतिक्रिया