News and Updates

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमशृङ्खलामा परेको असरबारे नेपालले उठाएका विषयलाई अन्तरराष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिक्रिया दिए ।
नेता डा कोइरालाले भन्नुभयो, “जलवायु परिवर्तनबाट प्रकृति र मानव जीवनमा परेको असरबारे हामीले निरन्तर आवाज उठाइरहेका छौँ । नेपालका हिमाल र हिमाली जनजीवनमा यसबाट अप्ठ्यारोमा परेको छ भने हिमशृङ्खलाले सङ्कटको सामना गरिरहेका छन् । त्यो पक्षलाई अन्तरराष्ट्रिय समुदायले बुझिदिनुपर्छ ।”
आफूले बेलायतको भ्रमणका क्रममा त्यहाँको संसदीय समितिमा यस विषयमा आवाज उठाएको बताउँदै डा कोइरालाले नेपालका तर्फबाट उठाइएका विषयलाई बेलायतले चासोकासाथ लिएको जानकारी दिए ।
उनले भने, “यहाँ राखिएका तस्बिरले नेपालको भौगोलिक अवस्थितिको वास्तविकताका बारे चित्रण गरेको छ । मुलुकभित्र रहेका प्राकृतिक सम्पदा र भूभागको अवलोकन तथा घुम्न हामी सोी स्थानमा पुग्नुपर्नेमा प्रर्दशनीले उक्त बाध्यताको अन्त्य गरेको छ । राससले गरिको तस्बिर प्रदर्शनी । पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बनेको छ । हिमशृङ्खला जोगाउन र पर्यटन प्रवर्द्धनमा हामीले आवाज उठाउनु पर्छ ।”
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डा कोइरालालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको बताए ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन,प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया