Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पर्यटक बस सञ्चालनमा

News and Updates
2 दिन अघि

काठमाडौँ, १९ जेठ । यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

 

 

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर  पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

 

 

‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल टिवान का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए।

 

 

“विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा  प्रदान गर्ने उनको भनाइ थियो ।

 

 

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए ।

 

 

यस्तो आन्दोलनले मुलुकको समग्र पर्यटन व्यवसायमा असर पर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

 

 

यातायात व्यवसायी तथा मजदुरले गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित नीजि सवारीसाधनलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै एक हप्तादेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

 

 

उनीहरुले आजदेखि आफ्नो सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया