News and Updates

दमक झापा, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दमक नगर कमिटीले यस वर्ष पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माओवादी केन्द्रले गतवर्षदेखि सुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको जनाएको छ । माओवादी केन्द्र दमक नगर कमिटी अध्यक्ष रवि बस्नेतका अनुसार ‘ग्रीन दमक, क्लिन दमक’ नाम दिएर यस वर्ष पनि २५ हजार बिरुवा रोप्ने लक्ष्यका साथ शनिबारदेखि वृक्षरोपण सुरु गरिएको हो ।
दमकको उत्तरी क्षेत्र दमकको हंसेदुम्से सामुदायिक बनको फोहर थुपारिएको सात बिघा क्षेत्रमा दुई हजार बिरुवा रोप्न थालिएको उनको भनाइ छ । वृक्षरोपणमा स्थानीयसहित विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुले श्रमदान गरी आएको अध्यक्ष बस्नेतको भनाइ छ ।
वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने छ । वृक्षरोपण अभियानको माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले शुभारम्भ गर्दै वृक्षरोपण कार्यक्रम पार्टीको मात्र नभएर यो समाजकै अभियान भएको जोड दिए ।
उनले भने, “यो पार्टी विशेष कार्यक्रम नभइ सामाजिक अभियान हो, अघिल्लो वर्ष ५० हजार बिरुवा दमक नगरभित्रै रोपेका थियौँ, यो वर्ष २५ हजार रोपिने कार्यक्रम छ । अभियानमा यहाँहरु जोडिनुपर्छ ।”
अभियानअन्तर्गत अमला, अम्बक, लिची, कागती, तेजपात, मसला, टिक, खयर ,खमारी, टाँकीलगायत रुख तथा छाँयादार बिरुवा रोपिने पार्टी जिल्ला कमिटी संयोजक राजु आचार्य अग्नी ले जानकारी दिए। उनले एक घर दुई बिरुवाको नीतिअनुसार वृक्षरोपण गरिदै आएको र बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भए, नभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया