Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

रासस
12 घण्टा अघि

कैलाली, १६ असार । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् ।  डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ ।

 

धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए ।

 

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनी सहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ ।त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

 

सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया