Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

रासस
4 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन् ।

 

आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न आँट नआउने बताए ।

 

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ ।

 

उनले भने, ‘समाजमा राजनीति गर्छु भनेर भन्न पनि बढो विचार गरेर, सोचेर तौलिएर, बोल्नुपर्ने अवस्था छ । यो कुरा मैंले नढाँटी भनेको हुँ । किनभने के गर्छस् भनेर कसैले सोध्यो भने राजनीति गर्छु भनेर भन्नको लागि भित्रैदेखि दम आउदैँन् । किनकी राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको छ । त्यो अरु कसैका कारणबाट नभएर राजनीतिमा नै रहेकाहरुलका कारण हो । हामी सबैको व्यवहार, कार्यशैलीका कारण यो अवस्था आएको छ । यसलाई सफा गर्ने काम पनि हाम्रो नै हो ।’

 

यस्तै, उनले राजनीतिज्ञहरुको बारेमा समाजमा भएको नकारात्मक दृष्टिकोण, धारणा र भाष्य चिर्नको लागि यस्तो अभियानले एउटा महत्वपूर्ण योगदान गर्ने बताए ।
सोही कार्यक्रममा लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका टीकाराम यात्रीले ‘सदगमय कार्यक्रम’ लाई एउटा सुन्दर सुरुवातको रुपमा लिएको भन्दै सफलताको शुभकामना दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया