Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

रातो कागज
4 घण्टा अघि

नवलपुर नवलपरासी, ४ असार । नवलपरासी बर्दघाट सुस्तापूर्व को गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनले जीविकोपार्जनका लागि महिला लक्षित पञ्चेबाजा तालिम प्रदान गरेको छ । गरिबी न्यूनीकरण गर्ने उद्देश्यले वनको कार्यक्षेत्रमा रहेका महिलाहरूको सशक्तीकरणका लागि पञ्चेबाजा तालिम दिइएको हो ।

 

 

एक महिनासम्म सञ्चालन हुने तालिममा महिलाले सनही, नरसिंहा, ढोलक, ट्याङ्को, झ्याली र दमाहा बजाउन सिक्नेछन् । तालिममा सहभागीले पहिला बाजाको बारेमा जानकारी नभए पनि तालिममा सहभागी भएपछि बजाउन सक्ने आत्मविश्वास बढेको बताउँछन् ।

 

 

गैँडाकोट–१ की मञ्जु कुँवर क्षेत्रीले तालिममा सहभागी भएपछि बजाको बारेमा जान्ने र बजाउन सक्ने हुँदै गएको बताए ।  “तालिममा १२ दिन सहभागी हुँदा बाजामा ताल कसरी फेर्ने, शैली कस्तो हुन्छ भन्ने कुरा सिक्यौँ”, उनले भने, “मैले सनही बजाउन सिक्दैछु, अब यसमा पम्प फेर्न जानेपछि म व्यावसायिक रूपमा बाजा बजाउन सक्ने हुन्छु ।”

 

 

सामुदायिक वनले महिला लक्षित कार्यक्रम दिएर आफूहरूको जीविकोपार्जनमा सहयोग पु¥याउँदा खुसी लागेको उनले बताए  । “महिलाहरूको पञ्चेबाजा बजाउने टोली नभएको ठाउँमा हामीलाई प्राथमिकता दिएर सिकाउनुभएको छ”, उनले भने, “प्रशिक्षकले सहज रूपमा सिकाउने भएकाले स्मरण पनि रहन्छ । बजा बजाउन दक्ष भएपछि हामीले पञ्चेबाजा समूह बनाएर यसलाई व्यवसायिक बनाउने योजना छ ।”

 

 

कार्यक्रमका प्रशिक्षक दुर्गाबहादुर पुनले पछिल्लो समय पञ्चेबाजा बजाउनका लागि युवा तथा महिलाको आकर्षण बढ्दै गएको बताए । उनले भने,“करिब १५ वर्ष अगाडि पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको थियो । त्यसपछि यसको संरक्षण गर्नुपर्छ भनेर समुदायलाई तालिममार्फत सिकाउँदै संस्कृतिको संरक्षण, प्रवर्द्धन र आयआर्जनमा जोड्ने पहल थालेका हौँ ।”

 

 

पुनले १२ वर्षदेखि पञ्चेबाजाको प्रशिक्षकका रूपमा समूह उत्पादन गरिरहेको उल्लेख गर्दै कतिपय महिला र युवाहरूले प्रशिक्षण लिएर पञ्चेबाजालाई जीविकोपार्जनको माध्यम बनाएका बताए । “अहिले एउटै गाउँमा पाँच–छ वटासम्म पञ्चेबाजा समूह छन्”, उनले भने, “बाजा बजाउन जानेपछि आम्दानी पनि हुने,लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन हुने भएकाले अहिले आकर्षण बढ्दै गएको हो ।”

 

 

बाजाको बारेमा जानकारी नभएका व्यक्तिलाई सिकाउन सुरुमा केही गाह्रो हुने भएपनि सिक्छु भनेर आउनेहरूले सहज रूपमा सिक्ने गरेका प्रशिक्षक पुनले बताए । अहिले हरेक सभासमारोह, धार्मिक तथा शुभ कार्यमा पञ्चेबाजाको माग हुने गरेकाले बजाउन सिकेपछि आम्दानीको माध्यम बन्ने उहाँले विश्वास व्यक्त गरे ।

 

 

मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वनले बर्सेनि गरिबी न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू ल्याउने गरेकामा ती कार्यक्रमहरू प्रभावकारी नदेखिएपछि यो वर्ष पञ्चेबाजा तालिम प्रदान गरिएको बताए ।

 

 

“सिलाइँबुनाइ, गुडिँया, मुढा निर्माण, करेसाबारी तालिम दिएका थियौँ । तर, ती त्यति प्रभावकारी भएको पाएनौँ”, उनले भने, “पञ्चेबाजा तालिमपछि महिलाहरूको सशक्तीकरण हुनेमा हामी विश्वास्त छौँ ।” उनका अनुसार करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा दुई हजार ३५० परिवार सदस्य छन् ।

 

 

वनले महिला सशक्तीकरणअन्तर्गत जीविकोपार्जन, गैँडाकोट १ र २ नं वडामा रहेका तीन वटा सामुदायिक विद्यालयमा एक/एक जना शिक्षकको पारिश्रमिक, टोल विकास संस्थालाई आर्थिक सहयोग, विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत कार्य गर्दै आएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

 

 

उनले भने, “सामुदायिक वन उपभोक्ताहरूले सञ्चालन गगर्ने भएकाले यहाँबाट हुने आम्दानी पनि समुदायका लागि खर्च गर्ने गरिएको छ ।” उपभोक्तासँग प्रत्यक्ष जोडिने काम गर्दै वन र वातावरणको संरक्षण, कलासंस्कृतिको प्रवर्द्धन, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत क्षेत्रमा काम गर्दै आएको सापकोटाले बताए ।

 

 

वनले दिएको पञ्चेबाजा तालिमले हाम्रो धार्मिक संस्कृतिक पहिचानलाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको गैँडाकोट नगरपालिकाका पूर्वनगरप्रमुख छत्रराज पौडेलले बताए । समुदायलाई वनसँग जोडेर लैजाँदा वन संरक्षण र जलवायु परिवर्तनको असर कम गराउन समुदायको भूमिका प्रत्यक्षहरुमा देखिने उनको भनाइ छ ।

 

 

“हामीले समुदायमा रहेका प्रतिभालाई पहिलो प्राथमिकता दिएर उहाँहरूको हौसला बढाउनुपर्छ”, उनले भने,“वनले यसरी समुदायलाई जीविकोपार्जनसम्बन्धी तालिम प्रदान गर्दा वन संरक्षणमा समुदायको सहभागिता थप बढेर जान्छ ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया