रासस

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा स्थानान्तरण गर्न सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका २१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयवासीको मानवअधिकारको उल्लङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूह र विशेष र्यापोर्टरबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो ।
प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख गरिएको छ । साथै नेपाल सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्वसुसूचित स्वतन्त्र सहमति लिन सुझाव दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया