नेपाल न्युज बैंक

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ । प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङतानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, थप १ थान खाली म्यागजिन र १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइ राखिएको अर्को कटुवा पेस्तोल १ थान र एमएम लेखिएको १२ राउण्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधतर्फ स्याङतानको घरबाट अफिमजस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम बरामद गरिएको छ । यससँगै लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ ।
स्याङतान आपराधिक गतिविधिमा संलग्न पुनरावृत्तिपूर्ण पात्र रहेको खुलेको छ । ०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद भुक्तान गरेका थिए । ०७६ साल साउन ४ गते, लागूऔषध र हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका स्याङतान ०८१ सालको माघमा छुटेका थिए ।
हाल पुनः लागुऔषध र अवैध हातहतियारसहित पक्राउ परेका स्याङतानमाथि आवश्यक अनुसन्धान तथा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया