News and Updates

बाजुरा । असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन् । बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरुभएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ ।
ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य रजालीका खेतहरूमा सजिलै देख्न सकिन्छ । एकातिर पुरुषहरू कोदाली र हलो लिएर गोरु डोर्याउँदै जमिन जोत्न तल्लीन छन्, अर्कातिर महिलाहरू हरियो धानको वेर्ना निकाल्दै, भिजेको छेउमा लाइन मिलाएर रोप्दै छन् ।
रजालीकी महिला किसानहरू रोपाईंको चटारोमा यसरी व्यस्त छन् कि खाना खाने समेत फुर्सद छैन् । खेतमा भिज्दै, हाँस्दै काम गरिरहने दैनिकी बनिरहेको छ । खेतमा हात चलाउँदै गला चलाउने उनीहरुको रोपाईंका भाकाले खेत गुन्जिरहेको छ । खेतका दुई छेउबाट महिलाहरूले दोहोरी गर्दै रोपाईंलाई थप रमाइलो बनाएका छन् ।
बाजुराको बढिमालिका नगरपालिका–३ का किसान धन वहादुर रावल भन्छन्,‘जेठ सुरु हुनासाथ असारको निम्तो आएको जस्तो लाग्छ । असारभर हामी खेत जोत्न, खन्न र कोदो सार्ने काम गर्छौं । आकाशबाट पानी झर्नासाथ खेतबारीको तयारीमा जुट्छौं । अरूले त पानी प¥यो भने ओभानो खोज्लान्, तर हामी भने हत्तपत्त खेततर्फ लाग्छौं । यही समय हो—धान रोप्ने, खेत जोत्न र मेहनत गर्ने ।’
बढिमालिका नगरपालिका–३ रजालीकी जानुका रावल भन्छिन्,‘रोपाइँ हाम्रो संस्कृति र परम्परा हो । यो मौकामा हामी भाका हाल्छौं, गीत गाउँछौं र महिला दिदीबहिनीको भेटघाट पनि यतिबेला नै हुन्छ ।’
स्थानीयहरू भन्छन्,‘रोपाइँमा हिलो, पानी र भोकको प्रवाह हुँदैन । यो बाध्यता मात्र होइन, रहर पनि हो । हामी माया र मेलो साट्दै खेतमै रमाइरहेका हुन्छौं ।’
बुढीनन्दा नगरपालिकाका बल वहादुर रावत भन्छन्,‘किसानको दिन भनेको खेतमै बित्ने दिन हो । हामी पुरुषहरू ‘हली’ बनेर जोत्न र खन्ने गर्छौं भने महिलाहरूलाई ‘राप्नेरी’ भन्छौं । रोपाइँमा साली–भेना झैं हाँसो–मजाक चल्छ । वरपर हिलो छ्यापाछ्याप गरेर रमाउने परम्परा छ, कामसंगै रमाइलो गर्ने हाम्रो शैली हो ।’
वर्षामा हिलोमा भिज्दै, गीत गाउँदै, हाँसखेलका साथ काम गर्ने किसानहरूको यो जीवनशैली साँच्चिकै प्रेरणादायक छ । जहाँ श्रम मात्र होइन, उत्सव पनि सँगसँगै पाइन्छ ।
‘दःुख त छ, तर गाउँले काममै रमाउँछौ ं। गीत गाएर खेत जोत्नु, रोप्नु – हाम्रो संस्कार हो,’ रजालीकी एक स्थानीयले भने ।
‘बाजुराको बुढिनन्दा नगरपालिकामा असारको सुरुवातसँगै रोपाइँको उल्लास फैलिन्छ । पुरुषहरू एक हातमा लौरो र अर्काे हातले गोरुको पुच्छर समाउँदै ‘हाहा–होहो’ गर्दै खेत जोत्न ब्यस्त हुन्छन् । पानीले भरिएका गोरेटो खेतहरूमा गोरु तान्दै लर्को लाग्छ । उता महिलाहरू एउटै लाइनमा निहुरिएर धान रोप्दै भाका मिलाउँदै असारे गीत गाउँछन । गीतमै सारा दुःख भुलिन्छ, पसिनामाथि पनि मुस्कान देखिन्छ ।
यसरी असारको रोपाइँमा रमाउँदै किसानहरू माटोसँग खेल्छन् । गीतसँग गुनगुनाउँछन् र आशासँग बिउ रोप्छन । यही रोपाइँको रमाइलोमा उनीहरूको जिन्दगीले सार्थकता पाउँछ ।
संस्कृति र श्रमको संगम हो रोपाई,
रोपाईंको यिनै भाका, हाँसो र माटोको गन्धले ग्रामिण जीवनलाई साँच्चिकै अर्थ दिन्छ । यो केवल कृषि कार्य होइन, एक परम्परागत सांस्कृतिक उत्सव पनि हो । जहाँ श्रम र सृजनाको उत्सव मनाइन्छ खेतमै ।
रजालीका महिलाहरूले एकातिर हरियो धानको विरुवा हातमा लिएर माटोको सतहमा रोप्दै गर्दा, अर्कातिर जीवनको सन्देश पनि रोपिरहेका छन् ।
जहाँ आशा छ, संघर्ष र सामूहिकता । यस्ता दृश्यले गाउँका जीवनशैली, महिला श्रमको सम्मान, र हाम्रो कृषिप्रधान समाजको मौलिकतालाई उजागर गर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया