Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत

News and Updates
2 दिन अघि

काठमाडौं । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई छ । जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने भन्दै विस्तारै मौसममा फेरबदल भइरहेको प्रतिक्रिया दिइन् ।

 

 

‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ । विस्तारै मौसममा चाँही फेरबदल हुँदै वर्षा हुनसक्ने सम्भावना पनि देखिएको छ । सबै दिन वर्षा हुने भन्ने पनि हुँदैन् । कुनैबेला मनसुन एक्टिभ हुन्छ भने कुनैबेला मनसुन ब्रेक हुन्छ,’ उनले भनिन् ।

 

उनले मनसुन ब्रेक हुँदा तापक्रम बढिरहेको भन्दै मनसुन सँधै एकनास नहुने बताइन् । ‘एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भएपनि सबै दिन वर्षा हुने भन्ने हुँदैन् । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैंभरी एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,’ उनले भने ।

 

 

यसैगरी जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ती कंडेलले आगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा वर्षा भइरहेको बताइन् । विशेषगरी कोशी, मधेश, गण्डकी, सुदुरपश्चिम प्रदेशमा भारी वर्षा समेत भइरहेको जानकारी दिदै देशव्यापीरुपमा आंशिकदेखि साधारणतया वदलीकै अवस्था रहेको बताइन् ।

 

 

उनले नेपालको पूर्वी भू–भागमा १५ दिन अगाडि नै मनसुन प्रवेश गरेको भन्दै देशव्यापीरुपमा मनसुन आउनको लागि अनुकुल वातावरणहरु बन्दै गएको बताइन् । उनले देशभर एक हप्ताभित्र नै मनसुन प्रोग्रेस हुने पनि बताइन् ।

 

 

उनले भनिन्, ‘यस वर्ष नेपालको पूर्वी भू–भागमा १५ दिन अगाडि नै प्रवेश गरेको थियो । बुधबार र विहीबार पानी पर्ने गतिविधि बढ्दैछ भनेर पहिल्यै जानकारी दिएका थियौं । देशव्यापीरुपमा वर्षाका गतिविधिहरु भइरहेका छन् । केही समयपछि सुख्खा नहुने, देशव्यापी रुपमा हरेक प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । अव छिट्टै केही दिनमा नै सम्भवत एक हप्ता भित्र नै मनसुन प्रोग्रेस हुन्छ । मनसुनी वायु कोशी प्रदेशमा मात्र भएपनि देशव्यापी रुपमा सक्रिय हुने अनुकुल वातावरणहरु बन्दैछन् ।’

 

 

उनले यस वर्ष औषतभन्दा बढि पानी पर्नुका साथै औषतभन्दा अधिकतम र न्यूनतम दुवै हिसाबले तापक्रम मापन हुने सम्भावना रहेको बताइन् । ‘जल तथा मौसम विभागले मनसुन फोरमको आयोजना गरेर आगामी मनसुन सिजनमा कस्तो किसिमको वर्षा र तापक्रमको अवस्था हुन्छ भनेर जानकारी गराइसकेको छ । यस वर्ष देशभरी नै औषतभन्दा बढी नै वर्षा मापन हुने सम्भावना देखिएको छ । तापक्रम अधिकतम र न्यूनतम औषतभन्दा बढि नै मापन हुने सम्भावना देखिएको छ,’ उनले भने ।

 

 

उनले यस पटक गण्डकी, लुम्बिनी र कर्णालीका आसपासका क्षेत्रहरुमा चै औषतभन्दा बढी वर्षा हुने सम्भावना अझै धेरै देखिएकाले सजक रहन आग्रह समेत गरिन् । नेपालमा मनसुन प्रवेश गर्दा मात्र पनि धेरै क्षतिको घटना घटेको भन्दै तीनै तहका सरकारले जोखिमको क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न आवश्यक रहेको बताइन् ।

 

 

उनले भनिन्, ‘मनसुन भित्रिदै गर्दा सामान्य क्षति भइसकेको छ । अव नेपालभरी नै मनसुन प्रवेश हुँदा भारी वर्षा भयो भने कति क्षति हुन्छ भनेर छुट्याउन सकिने अवस्था छैन । स्थानीय तहले आफ्ना क्षेत्रमध्ये कुन स्थान जोखिममा छ, जनतालाई बचाउन के गर्न सकिन्छ भनेर पूर्वतयारी गर्नुपर्छ । यसैगरी संघीय तहले पनि काम गर्नुपर्छ । नागरिकले पनि आफू बसेको क्षेत्र कतिको जोखिम भएको क्षेत्र हो भनेर बच्नको लागि के गर्ने भनेर आफैले पूर्वतयारी गर्न आवश्यक हुन्छ ।’

 

 

उनले महाशाखाले निकालेको बुलेटिनहरु, मौसमको समाचार हेरेर मात्र आफ्ना योजनाहरु बनाउन आग्रह गरिन् । साथै, उनले चट्याङबाट बच्न सम्भव भएसम्म घरभित्र बस्ने र घरभित्र रहदा पनि विद्युतीय सामाग्रीमा विद्युत प्रवाह हुनेखालका उपकरण चलाउन नहुने बताइन् । उनले चट्याङबाट बच्न रुखमुनि बस्ने प्रचलन गलत भएको भन्दै त्यसो नगर्न सुझाव दिइन् ।

 

 

‘हामी रुखमुनि बस्छौं । तर जुन रुख अग्लो छ त्यसमै चट्याङले हान्ने संभावना देखिन्छ । छाता ओडिरहँदा पनि चट्याङले हान्ने सम्भावना छ । फलामबाट टाढै रहने गर्नुपर्छ । जुत्ता चप्पलहरु लगाइरहने गर्नुपर्छ,’ उनले भनिन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया