२ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

कञ्चनपुर, २८ जेठ । सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ । अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका मौलिक लोकगीत सगुना र फाग गाउनेहरु पाउन मुस्किल भएको छ ।

 

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा विवाह, व्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुनाफाग गाउने चलन छ । युवापुस्ताले सिक्न लाज मान्नाले ज्येष्ठ महिलाहरूले सिकाउन प्रयत्न नगर्दा यस्ता मौलिक गीत लोप हुने अवस्था उत्पन्न भएको हो ।

 

महिलाहरूको अगुवाइमा माङ्गलिक समारोहमा गाइने गीतले धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक भाव बोकेको हुन्छ । सुदूरको सगुना गीतको सङ्ग्रहकर्ता लेखिका कलसा महरा सगुनाफाग शुभकार्यमा गाइने भएकाले यसले आशिष, मङ्गलकामना र सौभाग्यको सङ्केत दिने गरेको बताउछन् ।

 

“डोटेली भाषामा गाइने यी गीतले स्थानीय संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्छ, नारी सशक्तीकरणको साङ्गीतिक स्वरुपका रूपमा सगुनाफागलाई लिन सकिन्छ”, उनले भने ।

लेखिका महराका अनुसार सगुना यसरी प्रारम्भ हुन्छः
सगुना बोल सर्सर्ती लगुनु बोल बिरस्पती बोल मया भला सगुन बोल कसुघर सरसती कसु घर बिरस्पती ।
बोल माया भला सगुन बोल सीता घर राम घर बिरस्पती

 

त्यसपछि माङ्गलिक कार्यअनुसार फाग गाउने गरिन्छ । सगुनाफाग गाउने क्रममा दमाहा बजाएर बढाइँ गर्ने चलन डोटेलीभाषी समुदायमा प्रचलित छ । ज्येष्ठ महिलाले मात्रै मौलिकता बोकेका यी गीत धार्मिक तथा माङ्गलिककार्यमा गाउने गरेको पाइछ ।

युवा वयका बुहारीले सामाजिक सञ्जालमा अधिकांश समय टिकटक बनाउन र फोटो अपलोड गर्नमै बिताउने गरेको उनी बताउछन् । बुढापाकाले गाउने गीत भनेर लाज मान्ने गरेका कारण पछिल्लो समयमा सगुना फाग गाउने थोरै मात्र महिला छन् ।

 

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कञ्चनपुरस्थित झलारीमा हराउँदै गएका सगुना फागलगायत गीतबारे नयाँ पिँढीलाई जानकारी दिन शुक्लाफाँटा नगरपालिकाको सहयोगमा पाँच दिवसीय तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका महराले सगुन, फाग, ठाडो खेल, रोपाइँ मेलामा गाइने भैना देउडा गीत ओझेलमा पर्दै जान थालेपछि तालिममार्फत महिलाहरूलाई लयबद्ध रूपमा गायन गर्ने तौरतरिका सिकाउने काम गरिरहेको बताए । सगुनाफागका शब्दहरुको भाव एउटै हुने भए पनि गाउने लय जिल्लापिच्छे फरक हुने गरेको उनले बताए ।

 

सहायक प्रशिक्षक महेशकुमार जोशीका अनुसार, सगुनाफाग प्रमुख रूपमा महिलाले गाउने परम्परागत मौलिक गीतले महिलाहरूलाई भाव व्यक्त गर्ने, अनुभव बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने छ । जिल्लाजिल्ला र गाउँगाउँअनुसार सगुनाफागको लय फरक हुने भए पनि यसले दिने सन्देश र भाव भने एकै प्रकारको हुने गरेको छ ।

 

नयाँ पिँढीलाई जागरुक गराई डोटेली सभ्यताको पहिचानका रुपमा रहेका गीत जगेर्ना गर्न लाग्नुपर्ने उनले बताए । यी गीतमा उपदेश, संस्कार, सामाजिक व्यवहारजस्ता सन्देश समेटिएका हुन्छन्, जसले भावी पुस्तालाई पनि संस्कार सिकाउने उनी बताउछन् । महिलाले सगुनाफाग सामूहिक रूपमा गाउने भएकाले समाजमा ऐक्यबद्धता र सहकार्यको भावना पैदा गर्ने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका शुक्लाफाँटा नगर अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्ड बताउछन् ।

 

“गाउँमा सगुना फाग गाउने थोरै मात्र बुढापाका महिला हुने भएकाले उनीहरूलाई समाजमा उच्च सम्मान दिने गरिन्छ, गायनबापत सम्मानपूर्वक दानदक्षिण दिएर मात्र बिदा गरिन्छ, फागसुगना गायन गर्ने महिलाको खोजी गरेर माङ्गलिक कार्यमा सहभागी गराउनुपर्ने अवस्था छ”, उनले भने ।

 

उनका अनुसार न्वारन, कपाल काटने क्षौर, ताइ लगाउने, जग्यो लगाउने, हातमा पटली बाँध्ने, छोरीको विवाहमा खुट्टा धुने, लया भुटने, विवाहमा दुलही दुलहाले फेरा लगाउने, जन्ती दुलहाको घरमा पुग्ने, दुलही भित्र्याउने बेला सगुनाफाग गाउने गरिन्छ ।

 

त्यसैगरी, सासुले टीका लगाउने, बेहुला तयार हुने, बरियात दुलहीको घरमा पुग्ने, गौरा पर्वमा बिरुडा भिजाउने, व्रतबन्ध गर्ने, सत्यनाराण कथा, सप्ताह पुराणलगायत महायज्ञका बेला सगुनाफाग गाइन्छ ।

 

सगुनाफाग गाउनेलाई फगारी भन्ने गरिन्छ । एक जना जानकार महिलाले लयबद्ध रूपमा सगुनाफाग गाउँछन् भने अरु माङ्गलिक कार्यमा सहभागी महिलाले उनकै सिको गर्दै लयमा लय मिलाउँदै गाउने गर्छन् । डोटेली समुदाय मात्र होइन भारतको कुमाँउ गढवाल क्षेत्रमा पनि माङ्गलिक अवसरमा यो गाउने प्रचलन छ ।