News and Updates

काठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई विशेष सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबारदेखि सुरु भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका अवसरमा एनप्याब्सनलाई सम्मान गरिएको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उदघाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पुर्याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो । उक्त सम्मान संस्था अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाले ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा राखेपका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐतिहासिक कांस्य पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उदघाटन गरेका थिए । टर्च दौडमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सातै प्रदेशका ४७६ खेलाडी सहभागी छन् । एथलेटिक्स, रग्बी, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन र क्रिकेट गरी ६ खेल समावेश गरिएका छन् । २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया