News and Updates

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका हुन् ।
उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गरेको पनि जानकारी दिए ।
उनले भने,‘बैठकमा राम्रो छलफल भयो । यो बजेट पारित गर्ने समयसम्मको कार्यतालिकाहरु बनाएको छौं । २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गर्यौ ।
हरेक पटक सदन बन्द गर्ने सानो–सानो कुरालाई पनि मसला बनाएर लैजाने कुरा राम्रो होइन् । त्यसले संसदीय प्रणालीमा ठूलो चुनौती पैदा गर्छ । त्यसले यसमा गम्भीर भएर सोच्न पर्नेछ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ । यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् ।
२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया