News and Updates

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै निरोगी नेपाल अभियान सञ्चालन गरिने समेत बताए ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टीकृत जलन अस्पताल बनाइने बताए ।
साथै सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।
सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए ।
उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’
उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले १ खर्ब ५२ अर्ब बजेट पाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन् ।
सहरी विकास मन्त्रालयका लागि सरकारले १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन् । यसैगरी खानेपानी मन्त्रालयको लागि सरकारले ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया