News and Updates

रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ ।
चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन् ।
घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए ।
उनले पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिंदै सहिद घोषणामा केन्द्रबाट तल तलको आकडा मागिएको भएपनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए ।
अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए ।
बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने पनि उनको भनाइ छ ।
उनले भने, ‘हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ । म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’
अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया