Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सगरमाथा संवादमा इलामे चियाको स्वाद

News and Updates
5 घण्टा अघि

काठमाडौँ, ४ जेठ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

 

 

मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए ।

 

 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए ।

 

त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए ।

 

परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाले सहयोग पनि गरेका थिए ।

 

 

खासमा नेपालस्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिहरूलाई नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाहरूको परिचय दिलाउने र त्यसमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

 

 

यसपटक उनीहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने टि टेस्टिङ कार्यक्रम पनि राखिएको थियो । अन्तुको चिया बगानमा कूटनीतिज्ञहरू चिया टिप्ने प्रतियोगितामा सहभागी पनि भए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि पाए ।

 

 

त्यसपछि त्यसै दिन अर्थात् गत चैत ३१ गते अपराह्न टि टेस्टिङ कार्यक्रममा मन्त्री डा राणासहित सबै कूटनीतिज्ञहरू सहभागी भए । त्यस क्रममा उनीहरूले चिया बगानको बडो स्वादिलो र स्वस्थ चिया पिउन पाएको अनुभव पनि आदानप्रदान गरेका थिए ।

 

सूर्योदय नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा त्यहाँका स्थानीय चिया उद्यमीहरूको पनि सहभागिता थियो । उपस्थित कूटनीतिज्ञ एवं पाहुनाहरूलाई ताजा तथा विविध थरि र स्वादका चिया उपलब्ध गराएका थिए ।

 

 

स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले त्यहाँ उपस्थित परराष्ट्रमन्त्री डा राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र यसको बजारलाई मुलुक बाहिर विस्तारका लागि सहयोगका लागि आग्रह गर्न भने छुटाएनन् ।

 

 

संयोगवश सरकारले सगरमाथा संवादको तयारी थालिसकेको थियो । त्यसैले मन्त्री डा राणाले पनि सो संवाद कार्यक्रममा विश्वका देश तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू समेत आउने भएकाले सो संवादको कार्यक्रमस्थलमा टि टेस्टिङ समारोहका राख्ने प्रबन्धका लागि सुझाव दिए ।

 

 

मन्त्री डा राणाले संवादको व्यस्थापन समितिको संयोजकका हैसियतले संवादमार्फत त्यहाँ उपस्थित विभिन्न अन्तरराष्ट्रिय प्रतिनिधि एवं पाहुनाहरूले नेपाली अग्र्यानिक चियाको वास्तविक स्वाद पनि पाउने र यसबाट नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न सहयोग पनि पुग्ने भएकाले उक्त कार्यक्रमस्थलमा सो चिया राख्ने प्रबन्धका लागि निर्देशन दिएका थिए ।

 

 

सोहीबमोजिम नै सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । यसमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने टि टेस्टिङको प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए ।

 

 

उनले भने “हाम्रो यस प्रदर्शनी कक्ष प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रह्यो, उहाँहरूले थरिथरिका चियाका स्वाद पनि लिनुभयो र यसबाट नेपाली चियाको विश्व बजारमा प्रचारका लागि सहयोग पुगेको महसुस हामीले गरेका छौँ ।”

 

 

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएका भन्दै अध्यक्ष प्रधानले यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली चियाको प्रचार गर्दै जानुपर्ने अनुभव आफूले लिएको बताए ।

 

 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा प्रवर्द्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिए ।

 

 

यतिमात्र नभएर उनीहरूले यस संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अग्र्यानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया