Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

News and Updates
7 घण्टा अघि

काठमाडौँ, ३० वैशाख । सांसद नारायणदत्त भट्टले किसानले उत्पादन गरेको कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्ने व्यवस्था सिद्धान्त र प्रथामिकताले सम्बोधन गर्नेमा विश्वास लिएका छन् ।

 

 

राष्ट्रियसभा आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी छलफलमा भाग लिँदै उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यन्वनयका लागि उचित मूल्य र बजार पाउनुपर्नेमा जोड दिएका हुन् ।

 

 

“शिक्षा उत्पादकमूलक छैन । सिद्धान्त र प्राथमिकताले भनिए जस्तै पढ्दै कमाउदै नीति कार्यान्वनमा जोड दिनुपर्छ,” उनले भने ।

 

 

सांसद राजेन्द्रलक्ष्मी गैरेले विवाहको उमेरहद घटाउन नहुनेमा जोड दिए । “उमेर पुगेपछि विवाह गर्दा पढाइसँगै रोजगारीको लागि सक्षम हुन्छन् । तसर्थ विवाहका लागि २० वर्ष उमेरहद नै ठीक छ,” उनले भने ।

 

 

सांसद गङ्गाकुमारी बेल्बासेले आगामी बजेटमा हिमाली र पहाडी क्षेत्रलाई उपेक्षा गर्न नहुनेमा जोड दिए । “सिद्धान्त र प्राथमिकतामा मधेश र तराईलाई प्रथामिकता दिइएको छ । पहाड र हिमाललाई उपेक्षा गरियो । यसैले मेरो समर्थन छैन,” उनले भने ।

 

 

सांसद पदमबहादुर परियारले अर्थतन्त्र चलायमान बनाउनुपर्ने, जनतालाई आशा जगाउनुपर्ने, राज्य र व्यवस्थाविरुद्धको हर्कतको अन्त्य गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाए ।

 

 

सांसद रेणु चन्दले लैङ्गिक बजेट तर्जुमालाई प्राथमिकता दिन नसकेको, स्वदेशी उत्पादन वृद्धि गर्ने सरकारको नीति प्रष्ट नभएको बताए । “जनताको भलो हुने किसिमको बजेट ल्याइयोस् र स्टार्टअफ प्रवर्द्धन नीतिमा कार्यकर्ता प्रवर्द्धन नगरियोस् । प्रभावकारी कार्यान्वयनमा जोड दिइयोस्”, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया