News and Updates

रूपन्देही । पञ्चेबाजा ठोकेर बिहे गर्नुमात्र विवाह हो भन्ने समाजमा आम बुझाई छ । तर पछिल्लो समय यस्ता परिवर्तनशील युवा युवती पनि छन् कि जो सामाजिक क्षेत्रमा आफ्नो विवाहले योगदान पुगोस् भन्ने चाहन्छन् ।
यस्तै उदाहरणीय युवा युवती हुनुहुन्छ दैलेख आठबीस नगरपालिका-१ साततला घर भइ हाल काठमाडौँ नेपाल राष्ट्र बैंकमा सेवारत सुगम थापा र कालिकोट महावै गाउँपालिका-५ गेला निवासी विमला पोखरेल ।
उहाँहरु दुबै जना साेमबार मानवसेवा आश्रम रुपन्देही तिलोत्तमा सेवाकेन्द्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई साक्षी राखी विवाह बन्धनमा जोडिनु भएको छ ।
विवाह वन्धनमा जोडिनु भएका थापा र पोखरेल दम्पतीले आश्रममा आश्रितहरुका लागि भोजन सेवा सहजीकरणका लागि ५० हजार १ सय २९ रुपैयाँ योगदान समेत गर्नुभएको छ ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया