News and Updates

जुम्ला, २५ वैशाख । यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् ।
यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए ।
गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए ।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताए ।
गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले रु तीन लाख विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताए । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया