News and Updates

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।
गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो ।
घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ ।
‘स्थलको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौं । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ, डिएसपी अर्यालले भने ।
भूगर्भ विज्ञ बोलाउने निर्णय घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविदहरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।
उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन् ।
हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन । स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ प्रमुख लामाले भनिन् ।
उपमहानगरपालिकाका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ । अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया