Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अण्डाको माग बढ्यो

News and Updates
3 घण्टा अघि

चितवन, २१ वैशाख । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।

 

 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउछन् । उनले भने, “अझै अण्डाको उत्पादन घट्दै जाने छ ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ ।

 

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए । चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनी बताउछन् । उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउछन् । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।

 

अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट ३० वटा को रु चार सय ६०, ठूलोको रु चार सय ३५ र मिडियमको रु तीन सय ८५ कायम गरिएको छ । बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट ३० गोटा को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए ।

 

 

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । उनले भने, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया