Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

News and Updates
12 घण्टा अघि

म्याग्दी, १९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

 

 

दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पु¥याएपछि अन्य संरचना निर्माण थालिएको हो ।

 

 

कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए ।

 

 

कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्चि सडकको ट्याक निर्माण भइसकेको छ । तीन वटा डोजर परिचालन गरिएको छ ।

 

 

 

सोलवाङमा निर्माण हुने विद्युत्गृहसम्म पानी लैजान तीन किलोमिटर एक सय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए ।

 

 

पाँच सय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत सात किलोमिटर लामो प्रशारण लाइन बनाएर डाडाखेत सबस्टेशनमा लगेर राष्ट्रिय प्रशारण प्रणालीमा आवद्ध गराइनेछ ।

 

 

सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत खरिद बिक्री सम्झौता, जग्गा खरिद र बित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो ।

 

 

विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । रन अफ द रिभर नदी प्रवाहमा आधारित प्रकृतिको यो आयोजना निर्माणमा करिब रु एक अर्ब लगानी हुने अनुमान गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया