२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य

गुल्मीका अठचालिस प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

तम्घास गुल्मी, २९ चैत ।सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ ।

स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लाका ४८ दशमलव छ प्रतिशत नागरिकले सेवा लिएका छन् ।

सर्वसाधारणलाई गुणस्तरीय उपचार प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । बाह्र पालिका रहेको जिल्लामा विसं २०७८ को जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या छ ।

हालसम्म जिल्लाका एक लाख १९ हजार ९५४ जनाले स्वास्थ्य बिमा गराएका जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका संयोजक सुवास घिमिरेले जानकारी दिए। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि बिमा गर्नेको सङ्ख्या बढिरहेको उनले बताए।

घिमिरेका अनुसार जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २३ हजार ३९ र सबैभन्दा कम मदानेका तीन हजार ३६० नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

सरकारले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी र जटिल खालका क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको संयोजक घिमिरेले बताए । ज्येष्ठ नागरिक ७० वर्ष माथिका १६ हजार ९५४, एचआइभी सङ्क्रमित १६५ परिवारको ४८१, कुष्ठरोगी तीन परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ७७१ परिवारका तीन हजार ८८३ र जटिल खालको क्षयरोग लागेका छ । परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएका स्वास्थ्य बिमा बोर्ड गुल्मीले जनाएको छ ।