Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

रासस
2 महिना अघि

बागमती, १४ चैत । मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउने अभियान सञ्चालन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ जना आबद्ध भइसकेका गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए। उनका अनुसार पछिल्लो पटक गत फागुन २६ गते ९९ जना श्रमिक कोषमा आबद्ध भएका छन् ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकले तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् रु एक हजार १९० र गाउँपालिकाले रु एक हजार १४ गरी रु दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा श्रमिकलाई कोषमा आबद्ध गराउन रु २५ लाख बजेट विनियोजन गरेको छ । गत आवमा रु १३ लाख बजेटबाट श्रमिकलाई कोषमा आबद्ध गराउने कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।

सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मतृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्थाको सुरक्षा योजनाबाट लाभाम्वित हुने उहाँले बताए ।

श्रमिक दम्पती र कोषमा आबद्ध भएका परिवारका १८ वर्षमुनिका बालबालिका पनि विभिन्न योजनामा सहभागी भई उल्लेख सुविधा प्राप्त गर्ने उनले जानकारी दिए ।

यसैबीच, भिमफेदी गाउँपालिकाले सञ्चालन गरेको अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने योजनाको प्रक्रिया र अवस्थाबारे केही दिनअघि काठमाडौँ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, माडी नगरपालिका, शङ्करापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको टोलीले अध्ययन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया