Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

रासस
6 महिना अघि

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए। उनले भने, “संविधानको भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावका दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पुरा गर्ने हक सुनिश्चित गरेको स्पष्ट पारे।

उनले दुरदराजमा अझै नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेकाले यो अवस्थालाई गम्भिरतापूर्वक लिएर दक्ष चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताए । उनले भने, “आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन म आह्वान पनि गर्दछु ।”

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको बताए । उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा गौरीशंकरलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गङ्गोल, डा डिबि कार्की र डा सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया