रासस

चितवन, २ फागुन । सरोकारवालाहरुले मोफसलमा सञ्चालन भइरहेको अधिकांश सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति मा निर्भर रहेको धारणा व्यक्त गरेका छन् ।
राससले आफ्नो ६४औँ वार्षिकोत्सव एवं प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘स्थानीय सञ्चार माध्यम र रासस सेवाग्राही प्रवद्र्धन’ कार्यक्रममा वक्ताहरुले मिडियाहरु राससको भरमा चल्नुपर्ने बाध्यता रहेको भन्दै गुणस्तरमा सुधार गर्न सुझाव दिएका हुन् ।
सो अवसरमा राससका ग्राहक सञ्चारमाध्यमका सञ्चालक एवं प्रकाशकहरुले राससका सामग्रीका कारण थोरै जनशक्तिमा काम गर्न सम्भव भएको बताएका हुन् । छिटो, छरितो र भाषागत शुद्धतामा राससले ध्यान दिनुपर्नेमा उनीहरुको सुझाव थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले ग्राहक एवं सरोकारवालाहरुको सुझावलाई आत्मसात गर्दै अघि बढ्न राससलाई आग्रह गरे ।
विश्वको उदाहारण दिँदै निजी क्षेत्रलाई प्राथमिकता दिनसके देशमा समृद्धि हासिल हुने भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै रासस अघि बढ्नुपर्ने बताउनुभयो । उनले भने, “रासस समाचार बैंक भएकाले यसले प्रवाह गर्ने समाचारमा त्रुटि हुनुहुँदैन ।” नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाले रासस प्रचारमुखी नभएर समाचारमुखी हुनुपर्ने र खबरदारी बढाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले राससले सेवा शुल्कमा छुटको व्यवस्था गरेर सेवाग्राही बढाउन आग्रह गरे । महासङ्घ चितवनका पूर्वअध्यक्ष कृष्ण भण्डारी र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले रासस सरकारी मुखपत्र मात्र नभई नेपाली जनताका पक्षमा बोल्ने सञ्चारमाध्यम बन्नुपर्ने बताए।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपालले राससको सेवा निःशुल्क गर्न र ‘एक पालिका एक समाचारदाता’ राख्न सुझाव दिए । अर्का केन्द्रीय सदस्य र प्रतिमा सिलवालले राससका समाचार परिवर्तन आउने खालका हुनुपर्ने बताए।
सो अवसरमा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, आदिवासी जनजाति पत्रकार महासङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङ, प्रेस युनियन चितवनका सल्लाहकार सूर्य अधिकारीले राससलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए।
रासस चितवनका पूर्वप्रमुख गणशेखर शर्मा, अग्रज पत्रकार सूर्यप्रकाश कँडेल, चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्याल, लोकतन्त्र सन्देशका सम्पादक सन्तोष देवकोटा, पत्रकार हेमराज रिमाल, समीर चापगाईलगायतले राससलाई भाषागत शुद्धतामा ध्यान दिन, छिटोछरितो समाचार दिन, निःशुल्क बनाउन, खबरदारी गर्न, अर्थपूर्ण समाचार मात्रै दिन सुझाव दिनुभएको थियो । कार्यक्रममा राससका भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र समाचारदाता कृष्ण आचार्यले राससका बारेमा जानकारी गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया