६ पुष २०८२, आईतवार
अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

विपन्न परिवारका लागि घर निर्माण

घोडाघोडी कैलाली, २२ पुस । कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिए।
नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन्भने सोही वडाका दलित तथा अति विपन्न गैरदलितहरूका पाँच घर निर्माण भएका छन् ।
यस्तै वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । सोही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुनेगरी काम सुरू गरिनेछ ।
“जनता आवास भनेर हामीले पहिला ५० लाख बजेट विनियोजन गरेका थियौँ,” नगर प्रमुख शाहीले भने, “बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी रू एक करोड बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।”
उनका अनुसार आवास निर्माणका लागि प्रदेशबाट रू दुई करोड बजेट आएकाले काम गर्न थप सहज भएको छ । “सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौं,” नगर प्रमुख शाहीले भने ।