१७ कार्तिक २०८२, सोमबार
जीवनशैली मुख्‍य समाचार समाचार समाज

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

३ असोज, काठमाडौँ । एउटा प्रचलित कथा यस्तो छ ।

एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’

जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए ।

आमा स्तब्ध भइन् । छोराले किन यस्तो गरे ? उनले भेउ पाइनन् । तब छोरोले बिलौना गर्दै भने, ‘हिजो मैले सियो चोरेर ल्याउँदा तपाईंले खुसीसाथ लुकाउनुभयो । मलाई यो खराब काम होइन भन्ने लाग्यो र मैले अरु पनि चोरी गर्न थालें । त्यसबेला तपाईंले यो गलत हो भनिदिएको भए आज मेरो हालत यस्तो हुँदैनथ्यो । त्यसैले आज म जुन दण्ड भोग्दैछु, त्यसको भागीदार तपाईं पनि हो ।’

एउटा सत्य कथा यस्तो छ ।

शृंखलाबद्ध हत्या र ठगीमा कुख्यात नाम हो, चार्ल्स शोभराज । उनले जीवनमा २० जना निर्दोषको क्रूरतापूर्वक हत्या गरे । तर कहिल्यै त्यसमा पछुतो गरेनन् । बरु आफ्नो कृत्यलाई ढाकछोप गर्दै एकपछि अर्को अपराधको तानाबाना बुनिरहे ।

शोभराज किन यति क्रूर र कठोर भए ?

यसको पछाडि उनको बाल्यकालको दूरावस्थालाई जोडेर हेर्ने गरिन्छ । उनी जुन आमाबुवाबाट जन्मिए, उनीहरुबीच विवाह भएको थिएन । त्यसैले चार्ल्सका बुवाले आमालाई कहिल्यै श्रीमतीको रुपमा स्वीकार गरेनन् । अन्ततः उनकी आमाले दोस्रो विवाह गरे । त्यहाँ पनि उनकी आमाले सधैं अपमान र अत्याचार खेप्नुपर्‍यो । यसले चार्ल्सको कलिलो मस्तिष्कमा नराम्ररी आघात पुग्यो । उनी सधैं चिन्ता र बेचैनीमा दिन गुजार्न बाध्य भए । यसले उनमा एक किसिमको मनोविकार पैदा गर्‍यो । नतिजा, किशोरावस्थामा पुग्दा नपुग्दै ऊ अपराधको संसारमा हेलिए ।

यी दुई फरक दृष्टान्तको मियो भने एउटै छ, अभिभावकत्व ।

बालबालिकाले सही मार्गदर्शन र संस्कार नपाउँदा त्यसको नतिजा कति भयानक हुनसक्छ ? तपाईं-हामीले देखेका छौं । सुनेका छौं । कतिले भोगेका छौं ।

त्यसो भए आमाबुवाले नै आफ्ना छोराछोरीलाई खराब बनाउँछन् ? सुन्दा एकदमै तीतो लागेपनि यसको जवाफ ‘हो’ भन्ने आउँछ । तर यससँगै अर्को सत्य पनि भुल्नु हुँदैन । त्यो के हो भने दुनियाँमा यस्ता कुनै बुवाआमा हुँदैनन्, जसले आफ्नो छोराछोरी ‘खराब’ होस् भन्ने चाहन्छन् ।

आमाबुवा नै त्यस्ता व्यक्ति हुन्, जसले छोराछोरीलाई आफूभन्दा ठूलो, असल र राम्रो भएको देख्न चाहन्छन् । त्यसो भए कसरी सबै छोराछोरी आमाबुवाको सदीक्षा अनुरुप ‘असल’ हुँदैनन् ?

यसमा हाम्रो अभिभावकत्व सबैभन्दा बढी जिम्मेवार हुन्छ । कुनै पनि बालबालिका गर्भमा दोष लिएर जन्मिंदैनन् । तर जन्मिसकेपछि उनीहरुले कस्तो स्याहारसुसार पाउँछन् ? कस्तो संस्कार पाउँछन् ? कस्तो मार्गदर्शन पाउँछन् ? कस्तो संगत पाउँछन् ? त्यही अनुरुप उनीहरुको मनोविज्ञान विकास हुनपुग्छ । उनीहरुले देख्ने, सुन्ने, भोग्ने कुराले नै उनीहरुको सोच्ने र काम गर्ने शैली तय गरिदिन्छ । उनीहरुले के सोच्छन् ? कसरी सोच्छन् ? के गर्छन् ? भन्ने कुराको जग उनीहरु कसरी हुर्किएका थिए भन्ने कुरामा निर्भर रहन्छ ।

यसर्थ कुनै पनि बालबालिका असल वा खराब हुनुको मुलभूत कारण हो, अभिभावकत्व ।

बालबालिकाको कोणबाट हेर्दा अभिभावकहरु कस्ता हुन्छन् ? उनीहरुको प्रवृत्ति र तौरतरिका कस्ता हुन्छन् ? यी प्रश्नहरुको खोजमा लामो समय बिताएकी थिइन्, डायना ब्लमबर्ग बाउमरिन्डले । अमेरिकी क्लिनिक र विकासात्मक मनोवैज्ञानिक डायनाले वर्षौंअघि जुन खोज गरेर त्यसको निचोड निकालिन्, त्यो आजसम्म उत्तिकै सान्दर्भिक देखिन्छ ।

उनको निष्कर्ष थियो, अभिभावक चार किसिमको हुन्छन् । एक, अधिनायकवादी अभिभावक । दुई, उदार अभिभावक । तीन, बेपर्वाह अभिभावक । चार, आधिकारिक अभिभावक । यी चार किसिमका अभिभावकको मूल स्वभाव कस्तो हो ? उनीहरुले कसरी आफ्ना बालबालिका हुर्काउँछन् ? त्यसरी हुर्काएका बालकालिकामा कस्तो आनीबानी विकास हुन्छ ?

यी प्रश्नसँगै जोडिएन आउने अर्को रोचक प्रश्न हो, यसमध्ये तपाईं कुन श्रेणीमा पर्नुहुन्छ ?

अधिनायक अभिभावक

यस श्रेणीका आमाबुवाले बालबालिकालाई कडा अनुशासनमा राख्ने गर्छन् । उनीहरुको निर्देशन र निगरानीमा बालबालिका हुर्किन्छन् । उनीहरुले जे भन्छन्, बालबालिकाले त्यही गर्नुपर्छ ।

बालबालिकाले पढ्ने, खेल्ने, सुत्ने, बस्ने, हिंड्नेदेखि लगाउने, खाने कुरामा पनि उनीहरु आफ्नो मर्जीअनुसार गराउन चाहन्छन् । बालबालिकाले आफ्नो निर्देशन उल्लंघन गरेमा गाली गर्ने, कुटपिट गर्ने हुन्छन् । त्यस्तै कति गल्तीमा सजिलै माफी दिंदैनन् ।

उनीहरु आफ्ना छोराछोरीको कुरा सुन्दैनन् । तर आफ्नो कुरा एकतर्फी रुपमा सुनाइरहन्छन् । बालबालिकाबाट धेरै अपेक्षा गर्छन् । आफूले पूरा गर्न नसकेको काम वा इच्छा छोराछोरीबाट पूरा गराउन खोज्छन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्किएका बालबालिका कम आत्मनिर्भर हुन्छन् । उनीहरुमा डराउने र आत्तिने स्वभाव विकास हुन्छ । आत्मग्लानिले गर्दा खुलेर आफूलाई व्यक्त गर्न सक्दैनन् । आफ्नो रुचि, इच्छाहरु पहिल्याउन असमर्थ हुन्छन् । साथीभाइसँग घुलमिल हुने, नेतृत्व गर्ने कुरामा पछाडि पर्छन् । उनीहरुमा रचनात्मक क्षमता कम हुन्छ ।

उनीहरु पछि गएर कतिपय कुरा अवज्ञा गर्ने, असामाजिक हुने । एकोहोरो र एकलकाँटे हुने जोखिम हुन्छ ।

उदार अभिभावक

यस श्रेणीका अभिभावक आफ्ना बालबालिकाको मर्जीलाई सर्वोपरी ठान्छन् । बालबालिकालाई ‘तिमी नै सर्वेसर्वा हौ’ भन्ने आशयले व्यवहार गर्छन् । मायालु र नरम हुन्छन् । कहिलै गाली गर्दैनन् । बालबालिकाको हरेक आवश्यकता पूरा गरिदिने प्रयत्न गर्छन् । बालबालिकाले गरेको कुनै पनि गल्तीलाई गल्ती मान्दैनन् । वा त्यसलाई सामन्य मान्छन् र छुट दिन्छन् ।

आफ्नो अपेक्षा वा बाध्यता बालबालिकालाई सुनाउँदैनन् । दुःख वा अभाव सहेर पनि बालबालिकालाई सुखी र खुसी राख्न चाहन्छन् । बालबालिकाको प्रगति वा नतिजाको बारेमा कहिल्यै टिप्पणी गर्दैनन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्केका बालबालिका माया र प्रेमले पुलपुलिका हुन्छन् । उनीहरुले आमाबुवालाई आफ्नो नियन्त्रणमा राख्न खोज्छन् । आफ्नो गल्ती वा कमजोरी पहिल्याउन सक्दैनन् । त्यही कारण गल्ती दोहोर्‍याइरहन्छन् ।

उनीहरु कुनै पनि जिम्मेवारी वा दायित्व लिन तयार हुँदैनन् । नियम पालना गर्दैनन् । अरुको कुरा सुन्ने क्षमता कम हुन्छ र धेरै प्रतिक्रिया दिने खालका हुन्छन् । उनीहरुलाई शान्त र धैर्य रहन गाह्रो हुन्छ । प्राय: गुनासो गरिरहन्छन् । अपरिपक्व र परनिर्भर हुन्छन् ।

बेपर्वाह अभिभावक

यस श्रेणीका अभिभावकलाई आफ्नो बालबालिकाप्रति उति धेरै चासो र चिन्ता हुँदैन । उनीहरुले बालबालिकाको काम-व्यवहारमा त्यति प्रतिक्रिया दिंदैनन् । न त समर्थन नै जनाउँछन् । बालबालिकाले के गरिरहेका छन् ? पढाइ कस्तो छ ? नतिजा के आयो ? कहाँ घुम्न जान्छ ? कस्तो संगत छ ? कुनै सरोकार राख्दैनन् । बालबालिकालाई खुला र स्वतन्त्र छाडिदिन्छन् ।

उनीहरुले आफ्ना बालबालिकाको कुरा सुन्दैनन् न आफ्नो कुरा नै सुनाउँछन् । घुमाउने, खेलाउने वा अर्ती-बुद्धि दिने काम पनि गर्दैनन् । यस्ता अभिभावक आफ्नो समस्या र आवश्यकतामा केन्द्रित हुन्छन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

हेरचाहको कमीले गर्दा उनीहरुको सामाजिक विकास कमजोर हुन्छ । अभिभावकप्रति विश्वास र भरोसा गर्दैनन् । कुनै पनि कुरा आफ्नै अनुभव वा भोगाइबाट मात्र सिक्ने भएकाले व्यावहारिक परिपक्वता आउन समय लाग्छ । के ठीक वा के गलत भनी उनीहरु गम्भीरतापूर्वक सोच्दैनन् । आफ्नो रुचिअनुसार जे मन लाग्छ, त्यही निर्णय लिन्छन् । अरुलाई त्यति वास्ता गर्दैनन् र निर्देशन पनि मान्दैनन् ।

यस्ता बालबालिका आफ्नो लक्ष्य पहिल्याउन असमर्थ हुन्छन् । उनीहरुको जीवन धेरैजसो अलमलमा बित्छ ।

आधिकारिक अभिभावक

यस श्रेणीका अभिभावकले आफ्ना बालबालिकालाई स्वतन्त्रता दिन्छन् तर निश्चित सीमामा राख्छन् पनि । व्यावहारिक रुपमा अनुशासित र भित्री रुपमा दयालु हुन्छन् । बालबालिका के चाहन्छन् भन्दा पनि के आवश्यकता छ भन्ने कुरालाई ध्यान दिन्छन् । बालबालिकाको आवश्यकता पूरा गरिदिन्छन् र नचाहिने कुरामा कडाइका साथ नियन्त्रण गर्छन् ।

यी अभिभावक बालबालिकाको कुरा सुन्छन् र आफ्नो कुरा पनि साझेदार गर्छन् । बालबालिकासँग समय दिन्छन् । उनीहरुको भावना र रुचिलाई प्राथमिकतामा राख्छन् । छोराछोरीप्रति गर्नुपर्ने कर्तव्य पूरा गर्छन् । उनीहरुको प्रगति वा उन्नतिमा चासो राख्छन् र हौसला दिन्छन् । छोराछोरीको मूल्यांकन वा तुलना भने गर्दैनन् । बालबालिकाको रुचि, क्षमतालाई चिन्ने प्रयास गर्छन् र त्यही अनुरुप हुर्कनका लागि अनुकूल वातावरण तयार गरिदिन्छन् ।

आफ्ना बालबालिकालाई राम्रो काममा प्रोत्साहित गर्छन् भने नराम्रो काममा सचेत गराउँछन् ।

यसरी हुर्किएका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्किएका बालबालिका संस्कारी र सभ्य हुन्छन् । उनीहरु आफूलाई खुला महसुस गर्छन् तर खराब कुराप्रति उत्तिकै सचेत र सतर्क पनि रहन्छन् । साथीभाइसँग घुलमिल हुने, सामाजिक कार्यहरुमा सरिक हुने, सबैसँग सुमधुर सम्बन्ध कायम राख्ने खालका हुन्छन् ।

आत्मविश्वास र आत्मसम्मान उच्च हुन्छ । कुनै पनि समस्याको समाधान र निर्णय गर्ने क्षमता पनि राम्रो हुन्छ । निर्भिक रुपले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हुन्छन् । उनीहरुमा भय, ग्लानि, दु:खेसो जस्ता मनोविकार हुँदैन ।

यी बालबालिकाले आफ्नो रुचि सहजै पहिल्याउन सक्छन् र त्यस अनुसार आफ्नो क्षमता विकास गर्छन् । त्यसैले उनीहरु सक्षम र प्रतिभावान् हुन्छन् ।

कुन अभिभावकत्व सर्वोत्तम ?

नि:सन्देह यसमा आधिकारिक अभिभावकत्व सर्वोत्तम हुन्छ, बालबालिकाका लागि । यस किसिमको अभिभावकत्वले उनीहरु स्वच्छन्द हुर्कने मौका मात्र पाउँदैनन् उत्तिकै अनुशासन र संस्कारहरु पालना गर्ने पनि हुन्छन् । यसले उनीहरुलाई सही मार्गमा हिंडाउन प्रेरित गर्छ ।

त्यसबाहेक माथि उल्लेखित अधिनायक, उदार र बेपर्वाह अभिभावकलाई सही मानिंदैन । यद्यपि यी तीन किसिमको अभिभावकत्वबाट उचित गुणहरु लिने र त्यसलाई समायोजन गर्ने हो भने त्यसले फेरि सही नतिजा दिन सक्छ । एउटा पूर्ण अभिभावक बन्न यी तीन गुणहरुलाई समुचित ढंगले समायोजन गर्नुपर्ने हुन्छ ।

खराब अभिभावकत्वको कस्तो असर यसो भन्छ अध्ययन

अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा छापिएको लेखले देखाउँछ, जुन घरमा बालबालिकाले घरेलु तनाव झेलेका छन् उनीहरु पछि गएर मुटुरोगको सिकार बन्न सक्छन् । अर्थात् उनीहरुमा कार्डियोमेटाबलिक सिन्ड्रोम देखिन सक्छ ।

बुवाआमाको सम्बन्ध सुमधुर छैन, झगडा गरिरहन्छन्, उनीहरुमा रक्सीको कुलत छ भने यसको सोझो प्रभाव बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ । त्यस्तै बालबालिकाले कुनै वियोगको सामना गर्नुपरेमा वा ठूलो संकटको सामना गर्नुपरेमा पनि त्यसले उनीहरुलाई असर गर्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनले भन्छ, ‘बाल्यकालमा कुनै चोट वा वियोग सामना गरेका बालबालिकाले पछि आत्महत्या गर्ने वा कुलतमा फस्ने जोखिम हुन्छ ।’

त्यति मात्र होइन, पारिवारिक कलह, विचलनले उनीहरुमा गम्भीर मानसिक समस्या ल्याउँछ ।

त्यसैले बालबालिकालाई कस्तो बनाउने ? यो प्रश्न अभिभावकले अरुसँग होइन स्वयं आफूसँग सोध्न जरुरी छ । किनभने बालबालिकाको सम्पूर्ण मार्गदर्शन, शिक्षक, साथी, प्रहरी सबै अभिभावक हुन् ।

अब के गर्ने त ?

अभिभावकत्व एउटा प्रक्रिया हो, पूर्णता होइन । शिशु गर्भमा हुँदादेखि बालक, किशोर, युवा हुँदासम्म उनीहरुका लागि समुचित साथ, सहयोग, समर्थन, सजगता जरुरी हुन्छ ।

कुनै बालबालिका खराब भएमा उनीहरु सधैं खराब हुन्छन् भन्ने होइन । यस स्थितिबाट बालबालिकालाई बाहिर निकाल्न अभिभावकले धैर्यपूर्वक उचित कदम चाल्नुपर्ने हुन्छ । आफ्नो गल्ती कमजोरी सच्याउँदै र नयाँ तौरतरिका अपनाउँदै बालबालिकालाई सही ‘ट्र्याक’मा ल्याउनुपर्ने हुन्छ ।

किनभने रत्नाकर डाकु सधैं अपराधकर्ममा मात्र लिप्त हुँदैनन् महर्षि बाल्मिकी पनि हुन्छन् । रत्नकर बनाउने कि बाल्मिकी ? यो अभिभावकमा निर्भर गर्छ ।

बालबालिका भनेका वास्तवमा सिर्जना हुन्, जसको रचयिता उनका आमाबुवा हुन् । आमाबुवा कति रचनात्मक छन् ? त्यसको उत्तर उनीहरुले हुर्काएका छोराछोरी हुन् ।

आमाबुवाले छोराछोरीका लागि कहिले कलाकार बन्ने, कहिले वैज्ञानिक बन्ने, कहिले चित्रकार बन्ने, कहिले साथी बन्ने हो । यी अनेकका एक हुन् अभिभावक । कुन अवस्थामा आफूलाई कुन रुपमा प्रस्तुत गर्ने हो ? अभिभावकको मूल गुण यसैमा हुन जरुरी छ ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected