६ भदौ , घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ । सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो ।
विसं २०७७ मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिका–२ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो । नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाखमा दुई वर्षभित्र भवन निर्माण गनर्न २०७८ वैशाख २९ गते ठेक्का सम्झौता गरेको थियो ।
विसं २०८० वैशाखभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको अवधि सकिँदासम्म भवनको जग मात्रै खनिएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बजेट अभावका कारण भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको बताए । उहाँका अनुसार निर्माण कार्य थाल्दा रु एक करोड प्राप्त भए पनि त्यसपछि बजेट उपलब्ध हुन नसकेको बताए।
नगर अस्पताल भवन बनाउन लागिएको जमिनको भोगाधिकार नभएकाले बजेट उपलब्ध हुन नसकेको प्रमुख रावतले बताए । उनले भने, “भोगाधिकारको फाइल तयार गरी सङ्घीय मामिला मन्त्रालयमा पठाएका छाँै ।” प्रमुख रावतका अनुसार निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएका छन् । भवन निर्माण सम्पन्न नभएपछि सो पालिकाले घोडाघोडी–२ स्थित स्वास्थ्य चौकीको भवनमार्फत नगर अस्पताल सञ्चालन गरेको छ ।







