१२ श्रावण २०८१, शनिबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

भोजपुरमा ज्येष्ठ नागरिकका लागी प्रतिक्षालय निर्माण

२९ जेठ, भोजपुर । अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।

टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८ – ७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म रु २२ लाख खर्च भएको छ । भवनको रु ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उनले बताए ।

“हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ”,उनले भने, “हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ ।”भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भने ।

ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए ।

“ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्”,प्रशासकीय अधिकृत पौडेलले भने, “उनीहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।”

वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताए । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उनको भनाइ छ । यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उनी बताउछन् । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उनी बताउछन् । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्