१२ श्रावण २०८१, शनिबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

द ट्रायल’ अभिनेत्री नूर मृत भेटिइन 

२८ जेठ , मुम्बई । वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन् । कतार एयरवेजको पूर्व एयर होस्टेस समेत रहेकी उनी मुम्बईको लोखण्डवाला स्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि पुगेको ओशिवारा प्रहरीले फ्ल्याटको ढोका फोरेर भित्र पस्दा शव सडेगलेको अवस्थामा भेटिएको थियो । नूरको परिवारका सदस्य मुम्बईमा छैनन् ।

प्रहरीले मालाबिकाले आत्महत्या गरेको ठहर गर्दै के कारणले भन्ने खोजी भइरहेको बताएको छ । नूरको परिवारलाई शव लिन आउन भने पनि कोही सम्पर्कमा नआएपछि बेवारिसे शवको दाहसंस्कार गर्ने संस्थाको सहयोगमा उनको अन्त्येष्टि गरिएको छ ।

३२ वर्षीया नूर भारत असमकी हुन् । उनले हिन्दी फिल्मसँगै वेब सिरिजमा पनि काम गरेकी छन् । उनले ‘वाकमेन’, ‘तिखी चटनी’, ‘जघन्या उपाय’, ‘चरमसुख’, ‘देखी अनदेखी’ र ‘बेकरोड हलचल’ जस्ता सिरिज र फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्